काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २६औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि माघमा निर्वाचन मिति तोकिएको छ। महासंघ सचिवालयबाट आज प्रकाशित सूचनाअनुसार आगामी २०८२ साल माघ १५, १६ र १७ गते काठमाडौंमा महासंघ भेला र निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो।
विधानको व्यवस्थाबमोजिम हुन लागेको निर्वाचनमा देशभरका प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य र वस्तुगत संघका प्रतिनिधिको सहभागिता रहनेछ। साधारणसभामा सहभागी हुने प्रतिनिधिको नामावली पुस २९ भित्र महासंघ सचिवालयमा बुझाउनुपर्नेछ।
प्रत्येक प्रदेशबाट अध्यक्षसहित १५ जना र जिल्ला संघबाट सदस्य संख्याका आधारमा प्रतिनिधि चयन हुनेछन्। ५० जनासम्म सदस्य भएका जिल्लाले ३ जना प्रतिनिधि पठाउन पाउनेछ भने सोभन्दा बढी सदस्य भएका जिल्लाले थप प्रतिनिधि पठाउन सक्नेछन्। कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्य पठाउनुपर्नेछ।
प्रतिनिधि हुन योग्यता तोकिएको छ। साधारणसभाको प्रतिनिधि बन्न निर्माण व्यवसाय इजाजत पत्र प्राप्त गरेको १० वर्ष पुगेको र सम्बन्धित फर्ममा कम्तीमा ५ वर्ष अविछिन्न काम गरेको हुनुपर्नेछ। पिछडिएको क्षेत्रका हकमा भने ५ वर्षको अनुभव भए पुग्नेछ।
प्रतिनिधि बन्न चाहनेले आफ्नो फर्मको नवीकरण, जिल्ला प्रशासनको अद्यावधिक पत्र र कार्यसमितिको निर्णयसहितका कागजात पेस गर्नुपर्ने महासंघको सूचनामा उल्लेख छ।
महासंघले साधारणसभामा सहभागी हुने मुख्य प्रतिनिधि, प्रतिनिधि र पर्यवेक्षकका लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ।
_GTseACJxqm-1766466862.jpg)