काठमाडौं। क्लब चौलानीले सुदूरपश्चिम प्रदेशमा पहिलो पाँचतारे होटल सञ्चालनमा ल्याउने भएको छ। भारतीय पर्यटकलाई लक्षित गरी सुदूरपश्चिमको हबको रुपमा रहेको धनगढीमा २ अर्ब २० करोड लगानीमा विश्वप्रख्यात आईएजी ग्रुपले व्यवस्थापन गर्दै आएको ‘होलिडे इन’ सञ्चालनमा ल्याउन लागिएको क्लब चौलानीका अध्यक्ष डा. राजेन्द्र केसीले जानकारी दिए।
भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँग प्रत्यक्ष पहुँच रहेको सीमावर्ती सहर भएकाले भारतीय पर्यटक, व्यापारिक समूह र सम्मेलन बजारलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष केशीको भनाइ छ। होटलमा ५ वटा प्रिमियम सुइटसहित १ सय १५ वटा आधुनिक कोठा रहने छन्। होटलमा करिब १८ हजार ५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने ब्याक्यूट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेष्टुरेन्ट, आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक,सम्मेलन कक्ष तथा निजी डाइनिङ सुविधाहरु रहने जनाएको छ।
सुदूरपश्चिमका सात जिल्लाको आर्थिक जङ्सनका रूपमा विकास हुँदै गएको धनगढीकाे विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा होटल रहेको छ। जसले सञ्चालन लागत र पहुँच दुबैलाई अनुकूल बनाउने देखिन्छ। यो परियोजनाले सुदूरपश्चिमलाई पहिलो पटक विश्वव्यापी होटल चेनको नक्सामा राख्ने भएको छ।
होटल व्यवस्थापनका लागि मंगलबार क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. केसी र आईएचजी दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै आईएचजीले ब्रान्ड, सञ्चालन मापदण्ड र अन्तर्राष्ट्रिय नेटवर्क उपलब्ध गराउने छ भने स्थानीय प्रवर्द्धकले पुँजी, पूर्वाधार र बजार व्यवस्थापनको जिम्मेवारी लिनेछन्।
धनगढीको भौगोलिक अवस्थिति परियोजनाको मुख्य आर्थिक आधार मानिएको छ। होलिने इनको प्रवेशले सुदूरपश्चिम प्रदेशको पर्यटनमा मात्र सीमित नराखी सेवा, रोजगारी र स्थानीय आपूर्ति शृङ्खलासँग जोडिएको अर्थतन्त्र विस्तारको उपकरणका रूपमा हेरिएको छ। होटल सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत वृद्धि र सेवा क्षेत्रको व्यवसायिकरण हुने अपेक्षा गरिएको छ।
आईपीओ जारी गर्ने
होटल सञ्चालनसँगै सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) समेत जारी गर्ने भएको छ। २ अर्ब २० करोड रुपैयाँ लगानी रहेको होटलमा करिब ६४ प्रतिशत (१ अर्ब ४३ करोड) बैंक ऋण र ३५ प्रतिशत(७७ करोड) प्रवर्द्धकहरुको स्वपुँजीमार्फत व्यवस्थापन गरिने जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि गरिमा क्यापिटललाई प्रबन्धकको रुपमा नियुक्त गरिसकिएकाे छ।