खोटाङ। भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ। कोसी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको ६६ करोड बराबरको १२३ आयोजनाको ठेक्का गर्नुपर्ने जनाइएको छ।
ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए। उनले भने, ‘जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेकोजस्ता आयोजनाको ठेक्का आह्वान गर्न बाँकी छ । ती आयोजनाको पनि चाँडै ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाउँछौँ।’
१० स्थानीय तह रहेको खोटाङमा आव २०८२/८३ का लागि प्रदेश सरकारबाट स्वीकृत भएको रु एक अर्ब बढीका १६४ आयोजना परेका छन्। पूर्वाधार कार्यालयका अनुसार जिल्लामा सडक कालोपत्रे, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायत आयोजना छन्।
कोसी प्रदेश सरकारबाट स्वीकृत आयोजनामध्ये बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्नुपर्नेमा २४ तथा १० बहुवर्षीय आयोजना चालू अवस्थामा रहेको जनाइएको छ। आव २०८२÷८३ का लागि ठेक्का आह्वान गरिएका कतिपय आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माण प्रक्रियासमेत अगाडि बढाइएको कार्यालय प्रमुख दाहालले जानकारी दिए।
भौतिक पूर्वाधार विकास कार्यालयले जिल्लामा परेका आयोजनाको ठेक्का समयमै आह्वान गरेपछि निर्माण व्यवसायी पनि खुसी बनेका छन्। गत कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आह्वान गरेपछि निर्माण कम्पनी सम्झौता गर्न भ्याईनभ्याई भएका छन्।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट परेको दाबी गरिएको छ। कोसी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी खोटाङ क्षेत्र नं २ (ख)का प्रदेशसभा सदस्य भूपेन्द्र राईले सम्हाल्लेपछि करिब १ अर्ब बढीको १६४ वटा आयोजनाका लागि एकैसाथ बजेट विनियोजन गरेका हुन्।
प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका भौतिक पूर्वाधार विकासमन्त्री राईले पहिलोपटक जिल्लामा यति धेरै आयोजनाका लागि बजेट विनियोजन गरेपछि खोटाङवासीले मन्त्रीलाई धन्यवाद दिँदै खुसी व्यक्त गरिरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले जिल्लामा आएका बजेट तथा आयोजनालाई पारर्शी र गुणस्तरीय ढंगले कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा मन्त्री राईलाई सुझावसमेत दिइरहेका छन्।
तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेस कोसी प्रदेश समितिका महामन्त्रीसमेत रहेका मन्त्री राईले जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गरेको सचिवालयको दाबी छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको रातो किताबमा उल्लेख भएअनुसार जिल्लामा आएका आयोजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माण आयोजनाका लागि १० करोड बजेट उपलब्ध भएको छ।–रासस