काठमाडौं। मोरङको केराबारी गाउँपालिकामा करदाता सेवा कार्यालयको काम हस्तान्तरण भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख अतिथिमा करदाता सेवा कार्यालयको काम हस्तान्तरण भएको हो।
कार्यक्रममा बोल्दै मन्त्री खनालले आजको दिन प्रशासनिक संघीयतामा ऐतिहासिक दिन रहेको उल्लेख गरे। उनले वित्तीय संघीयतालाई अघि बढाए पनि प्रशासनिक संघीयता कमजोर रहेको अवस्थामा यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्न सहयोग पुग्ने विश्वास लिए।
करदातालाई सहजता, कर भुक्तानीको लागत र समय घट्ने, विकृत व्यवहार कम हुने, स्थानीय सरकारको 'आयस्रोत' सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवर्द्धन कायम गर्ने काममा एक खुड्किला अगाडि बढेको उनको भनाइ थियो।
यस अवसरमा पालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले राजस्व प्रणालीमा स्थानीय तहको प्रभावकारी भूमिका स्थापना हुने बताएका थिए।
कार्यक्रममा मन्त्री खनालसहित राजस्व सचिव भुपाल बराल, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशव उप्रेती, सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय उद्योगी तथा व्यवसायी, करदाता तथा पत्रकार सहभागी थिए।