झापा। चालू आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म अलैंची निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ। मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ।
पाँचमहिने अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैंची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैंची निर्यात भएको उनले बताए।
कार्यालयको तथ्यांकअनुसार चालू आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्ब ८५ करोड ६२ लाख सात हजार मूल्य बराबरको चिया निर्यात भएको छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए।
कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोबी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी प्लाइउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ।
मेची भन्साबाट चालू आव २०८२/८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ।–रासस