काठमाडौं। गत असार २४ गतेको बाढीले क्षतिग्रस्त रसुवागढीस्थित मितेरी पुल पुनःर्निर्माण सम्पन्न भएसँगै भोलिदेखि रसुवागढी नाका सञ्चालनमा आउने भएको छ। चिनियाँ पक्षले आज सूचना जारी गर्दै नाका पुनः सञ्चालनमा ल्याइने जानकारी दिएको हो।
नाका खुले पनि तत्काल सबै सवारी साधन सञ्चालनमा आउने छैनन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार भोलिदेखि चीन प्रवेशका लागि निवेदन दिएका ढुवानी सवारी चालकलाई मात्र प्रवेशको अनुमति दिइने छ। उनका अनुसार आगामी जनवरी १ देखि एकतर्फी पालैपालो प्रणालीमा मालवाहक सवारी साधन र व्यापारीलाई चीन प्रवेश गर्न दिइने छ।
चिनियाँ पक्षले जारी गरेको सूचनामा सीमापार ढुवानीमा संलग्न यात्रुहरूलाई मात्र प्रवेश अनुमति दिइने, विदेशी व्यापारिक प्रतिष्ठानहरूले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने तथा नेपाली चालक र कर्मचारीहरूले प्रवेशअघि आवश्यक तयारी पूरा गर्नुपर्ने उल्लेख छ।
जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षणपछि मात्र आवागमन अनुमति दिनेछ। यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षले जनाएको छ। जी-२१६ सीमा क्षेत्रमा सडक कालोपत्रे कार्य जारी रहेकाले जनवरी १ देखि ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग हुनेछ। यस अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहने छ।
जनवरी ८ पछि चिनियाँ समयअनुसार बिहान ९ देखि १ बजेसम्म नियमित र दिउँसो २ देखि ७ बजेसम्म अस्थायी रूपमा सवारी सञ्चालन गरिने छ। २०७६ जेठदेखि सञ्चालनमा आएको मितेरी पुल बाढीका कारण पटक-पटक क्षतिग्रस्त हुँदै आएको छ। चीनबाट बग्ने लेन्दी खोलामा आउने बाढीले सडक सञ्जालमा प्रभाव पार्ने गरेको छ।
चिनियाँ लगानीमा निर्माण भएको उक्त पुल २०७२ सालको भूकम्पपछि थप क्षति पुगेपछि तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले पुनर्निर्माण गरेको थियो। व्यापारिक गतिविधि विस्तार भएसँगै पुरानो पुलभन्दा करिब पाँच मिटर उत्तर-पूर्वतर्फ नयाँ पुल निर्माण गरिएको हो।