काठमाडौं । चालु आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषको नाफा झण्डै १ अर्ब रुपैयाँ घट्ने भएको छ । कोरोना भाइरस संक्रमण महामारीले गर्दा कोषको नाफामा ९० करोड रुपैयाँ भन्दा बढी घट्ने देखिएको हो ।
कोषको सञ्चालक समिति बैठकमा ९० करोड रुपैयाँ घट्ने अनुमान पेश गरिएको छ । कोषले सञ्चयकर्ताबाट लिने ब्याजमा १० प्रतिशत छुट, बैंकहरुबाट प्राप्त हुने प्रतिफलमा गिरावट आउने अनुमानका आधारमा सञ्चय कोषको नाफा घट्ने प्रक्षेपण गरेको छ ।
कोषले बैंकहरुमा मुद्धति निक्षेपमा रकम राख्नुका साथै बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गरिरहेको छ । पछिल्लो समयमा कोषले सानिमा बैंक र सिभिल बैंकको संस्थापक सेयर खरिद गरेको छ ।
मुद्धतिको आम्दानीमा खासै कम नभए पनि सेयर लगानीबाट प्राप्त हुने आम्दानीमा कमी आउने अनुमान कोषको छ । बैंकहरुको नाफामा गिरावट आउने प्रक्षेपण कोषले गरेको छ । बैंकहरुले १० प्रतिशत ब्याज छुटका साथै कर्जाको ब्याज पनि घटाउन थालेका छन ।
कोरोना महामारीले गर्दा विभिन्न सुविधा दिनुपर्ने भएकाले नाफामा ९० करोड जति कमी आउने देखिएको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । उ
नले कोरोना महामारीका कारण सञ्चयकर्तालाई १० प्रतिशतसम्म ब्याज छुट दिएको र बैंकबाट आउने प्रतिफल न्युन हुने भएकाले नाफामा कमी आउने संभावनना रहेको उनले स्पष्टपारे ।
सञ्चय कोषले सञ्चयकर्ताहरुबाट ८.२५ प्रतिशतमा लिएर ९.५० प्रतिशतमा ऋण प्रवाह गरेको छ । कोषको ब्याजदर अन्तर (स्प्रेड) १.२५ प्रतिशत मात्र छ ।
गत आर्थिक वर्षमा कोषले ३ अर्ब ७५ करोड रुपैयाँ खुदनाफा गरेको थियोे । कोषको आकार बढेर ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । जसअनुसार ३ खर्ब ४४ अर्ब रुपैयाँ सञ्चयकर्ताको र बाँकी १६ अर्ब विभिन्न कोषको वचत रकम छ ।
कोषले सञ्चयकर्ता सापटीमा ५३, परियोजना कर्जामा १६, बैङ्कको मुद्दती निक्षेपमा १३ र अन्य क्षेत्रमा ८ प्रतिशत लगानी गरेको छ ।