काठमाडौं। २०८२ असार २४ मा चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) को बाढीले सबै भन्दा बढी क्षति भएको रसुवागढी जलविद्युत आयोजनाको पछिल्लो प्रगतिबारे बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्थलगत निरीक्षणका लागि रसुवागढी पुगेका छन्।
उनी त्यहाँ पुग्दा अझै पनि त्यहाँ पुनर्निर्माणकाे काम भइरहेकाे थियाे भने बाढीले क्षति गरेका संरचनाहरु पुर्णरुपमा उठ्न नसकेकाे प्रष्ट देखिन्थ्यो। आयाेजनाकाे बाँधस्थल वरपर अझै पनि ठूलाठुला ढुंगा र मुढाहरु देखिन्थे भने पावरहाउसबाट झिकेका मुढाहरु काटेर झिकेकाले अझै धुलाे देखन्थ्याे। त्यति मात्रै हाेइन बाढीसँगसँगै पसेकाे लेदाेका कारण पावरहाउसका धेरै संरचनाहरु मर्मत गरेर चलाउनका लागि यत्रतत्र देखिन्थे। शाक्यले १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाकाे स्थलगत निरीक्षणसँगै त्यहाँको प्राविधिक पक्षका बारेमा पनि जानकारी लिए। चिलिमे जलविद्युत आयोजनाका सिइओ बाबुराज महर्जन, उत्पादन विकास तथा सहायता विभागका निर्देशक राजा भाइ शिल्पकार, प्राधिकरणका निर्देशक श्रीराम पाेखरेल, त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख सुरज दाहाललगायतको टोलीसहित रसुवागढी पुग्नु भएका शाक्यले बाढीका कारण सबै भन्दा बढी क्षति भएको रसुवागढी जलविद्युत आयोजनाको बाँध, पावर हाउसलगायतका संरचनाको पनि उनले निरीक्षण गरे।
उनले निरीक्षणसँगै कठिन समयमा पनि मेहनतका साथ काम गरेको भन्दै आगामी दिनमा अझ प्रभावकारी प्रविधिको प्रयोग गर्दै काम गर्न निर्देशन दिए। ‘मानसिक त्रासमा बसेर लगातर काम गरेर यो सफलता प्राप्त गर्नुभयो अहिले दुई ओटा युनिट सञ्चालनमा ल्याउनुभयो यो प्रशंसनीय काम हो,’ उनले भने, ‘यो सुख्खा मौसममा पनि यी दुई युनिटबाट करीब ४५ युनिट विद्युत उत्पादन भइरहेकाे छ। यो गतिशिलतालाई कायम राख्नुहोस्। अहिलेसम्मको प्रगति राम्रो छ। तर, प्राकृतिक विपत्ति आइलाग्यो। यद्यपि अरु अवस्थामा तपाईंहरुकाे मेहनतले थप सुधार गरेर अघि बढ्दा यस्ले थप राम्रो गर्छ भन्ने मलाई लागेको छ।’
उनले आवश्यक सहयोगका लागि प्राधिकरण तयार रहेको भन्दै डिजाइनमा भएका केही कमजोरीलाई सच्याएर आगामी दिनमा अहिलेको भन्दा राम्रो गरेर अघि बढ्न पनि सुझाव दिए।
उनले पहिला गरेको डिजाइन भन्दा अहिले बस्तुस्थिति फरक भएको र नदीले आफ्नो धार समेत परिवर्तन गरेको भन्दै त्यसै अनुसार डिजाइनमा परिवर्तन गरेर जानुपर्ने बताए। ‘पुरानै डिजाइनले पुरानो समस्यालाई समाधान गर्दैन,’ उनले भने, ‘अब फरक ढंगले अघि बढ्नुपर्छ मैले त्यहि अनुसारको सुझाव पनि दिएको छु। यो एक वर्षको बाढीलाई हेरेर त्यसपछि स्थायी समाधानसहित अघि बढन्पर्छ।’
उनले ठेक्कापट्टा लिएर भन्दा पनि आफ्नै स्रोत–साधनको प्रयोगमा काम गरिरहेको भन्दै त्यसको पनि प्रशंसा गरे। ‘प्रगति राम्रो छ। तर, अर्को बाढी आउनु भन्दा अघि गर्नुपर्ने काम अझै धेरै छ। त्यो काम द्रुत गतिमा गर्नुपर्ने छ,’ उनले भने, ‘बाँध निर्माणस्थलकाे काम पनि अझै द्रुतगतिका साथ गर्नुपर्ने छ।’
उनले पावर हाउसकाे पनि निरीक्षण गरे।
विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइको अगुवाइमा निर्माण भएको रन-अफ- रिभरकाे याे आयाेजनाले वार्षिक ३ अर्व २५ कराेड आन्दामी गर्ने लक्ष्य लिएकाे भन्दै बाढीले क्षतिग्रस्त अवस्थापछि कठिनका साथ काम गरिरहेकाे आयाेजनाका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले असार २४ काे बाढी अघि १ सय १४ कराेड आम्दानी गर्न सफल भएको जानकारी दिए।