काठमाडौं। करिब ६ महिना ठप्प रहेको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। गत असार २४ को बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित मितेरी पुलमा क्षति पुगेपछि बन्द नाका पुल र्निर्माण सम्पन्नसँगै सञ्चालनमा आएको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार सीमापार ढुवानीमा संलग्न नेपाली ट्रक चालक बिहान ७ बजेदेखि केरुङतर्फ आउन थालेका छन्। ल्हेन्दे खोलामा निर्माण गरिएको नयाँ बेलीब्रिजको प्राविधिक परीक्षण सफल भएपछि पुस १७ देखि नाका खोल्ने निर्णय भएको उनले जानकारी दिए।
रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले मितेरी पुलको स्थानमा नयाँ बेलीब्रिज निर्माण भइसकेको र आइतबारदेखि मानिसको आवतजावत सुरु भएको बताए। पुस १७ देखि मालवाहक सवारीसाधन तथा व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइनेछ।
चिनियाँ पक्षले जारी गरेको सूचनाअनुसार सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन थालिएको छ। साथै विदेशी व्यापारिक प्रतिष्ठानले सम्बन्धित निकायलाई समयमै जानकारी गराउनुपर्ने र चालक तथा कर्मचारीले आवश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ।
सीमा क्षेत्रमा सडक कालोपत्रे जारी रहेकाले जनवरी १ देखि ८ सम्म आधा मार्गबाट मात्र आवागमन हुनेछ। सो अवधिमा सीमित समयमै सवारी सञ्चालन गरिनेछ। सडक आयोजनाका प्रमुख ई. कृष्णनाथ ओझाका अनुसार हाल स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको खण्डमा एक लेनबाट मात्र सवारी सञ्चालन सम्भव छ।
०७६ मा सञ्चालनमा आएको मितेरी पुल असारको बाढीले बगाएपछि नेपाल–चीन सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। नाका पुनः सञ्चालनसँगै व्यापार, ढुवानी र आवागमनले गति लिने अपेक्षा गरिएको छ।
यसअघि गत असार २४ अघि केरुङतर्फ गएका मालवाहक कन्टेनरका डिब्बा फिर्ता ल्याउन तथा अड्किएका सामग्री व्यवस्थापन गर्न नेपाली चालक र व्यवसायीका प्रतिनिधि समेत आजै केरुङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।
ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि असारदेखि नै रसुवागढी नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएको थियो। नाका बन्द रहेकै कारण गत वर्षको सोही अवधिको तुलनामा भन्सार शुल्कबाट मात्रै करिब २० अर्ब राजस्व नोक्सान भइसकेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए।