गण्डकी। होटल संघ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ।
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङलाई छ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघले ताल संरक्षणका लागि उचित बजेट विनियोजनको माग गरेको हो।
होटल संघ नेपालका केन्द्रीय सदस्य एवम् होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीको अगुवाइमा संघको टोलीले मन्त्री घिसिङलाई भेटी पर्यटन क्षेत्रले भोग्नु परेका समस्या र चुनौतीलाई सम्बोधन गर्न आवश्यक पहलका लागि अनुरोध गरेको छ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपालको प्राकृतिक गहनाका रुपमा रहेकोे फेवाताल वर्षायाममा आउने बाढी, पहिरो, ढल तथा अतिक्रमणका कारण दिनानुदिन पोखरीका रुपमा परिणत भएको उल्लेख छ।
यसको संरक्षण गर्न सर्वोच्च अदालतको फैसलाबमोजिम स्थानीय सरकारद्वारा सीमांकन समेत भइसकेको अवस्थामा आवश्यक बजेट विनियोजन नभएका कारण अन्य कार्य अगाडि बढ्न नसकेको हुँदा आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरी फेवातालको संरक्षण र संवद्र्धनमा विशेष भूमिका निर्वाहका लागि सङ्घले आग्रह गरेको छ।
जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानलाई पुनरुत्थानका लागि उचित राहतको व्यवस्थापन गरिनुपर्ने बुँदा पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ। चालू बजेटमा पर्यटन उद्योगलाई पनि अन्य उद्योग सरहको सुविधा दिइने छ भनी सम्बोधन भएता पनि हालसम्म पनि कार्यान्वयन हुन नसकेको संघले जनाएको छ।
पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति कार्यमा ढिलाइ भएको हुँदा तोकिएको समयमा काम पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिइनुपर्ने आवश्यकता औँल्याउँदै संघले पोखरालाई भारतीय बोर्डरसम्म सीधा जोड्न ‘फाष्ट ट्र्याक’ निर्माणको योजनाअगाडि सार्न आग्रह गरेको छ।