काठमाडौं। नेपालले काठ, काठजन्य सामग्रीको वैदेशिक व्यापारमा पछिल्ला पाँच वर्षमा निकै राम्रो आम्दानी गरेको छ। भन्सार विभागका अनुसार पछिल्ला पाँच वर्षमा काठ तथा काठबाट बनेका सामग्रीबाट नेपालले वार्षिक साढे चार अर्ब नाफाको व्यापार गरेको छ।
आर्थिक वर्ष २०७८/७९ सालमा सोको व्यापारबाट ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटामा थियो। जहाँ आयातको तुलनामा निर्यात निकै न्यून रहेको भन्सार विभागको तथ्यांक छ। तर, पछिल्ला वर्षमा आयात क्रमशः घट्दै जानु र निर्यातमा उल्लेख्य वृद्धि भइरहेको छ। नेपालले यस क्षेत्रमा व्यापार घाटाबाट व्यापार नाफामा पुगेको छ।
स्थानीय स्तरमा काठजन्य उद्योग (विशेषगरी भेनियर र प्लाइउड)को उत्पादन र प्रयोगबारे पनि सर्वसाधारणको चासो बढ्न थालेको छ। यसै कारण काठ निर्यात वृद्धि भएको हो। काँचो काठलाई मेसिनबाट चिरेर निकालिएको पातलो पातालाई ‘भेनियर’ भनिन्छ।
भेनियर प्लाइउड बनाउने मुख्य कच्चा पदार्थ हो। ४ देखि ५ वटा यस्ता भेनियरका पाताहरूलाई एकमाथि अर्को राखेर व्यवस्थित रूपमा टाँसेपछि मात्र बजारमा पाइने प्लाइउड तयार हुन्छ। जुन आधुनिक घर निर्माण र ढोकाहरू बनाउन प्रयोग गरिन्छ। यो निर्यातका कारणले व्यापारमा नाफा देखिएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले बताए।
आयातमा आएको भारी गिरावटले स्वदेशी काठको उपयोग बढेको छ।
भन्सार विभागका अनुसार, आर्थिक वर्ष २०८०/८१ देखि नेपालले अर्बौंको नाफा कमाउन थालेको छ। आर्थिक वर्ष २०८१/८२ मा निर्यात बढेर ९ अर्ब ४२ करोड रकम नाघेको छ। यो व्यापारबाट सरकारलाई ४ अर्ब ६१ करोड रुपैयाँ नाफा भएको छ।
अर्कोतर्फ, आयातमा आएको भारी गिरावटले स्वदेशी काठको उपयोग बढेको छ। अर्थात विभागको तथ्यांकले आयात प्रतिस्थापनमा गरेको देखाउँछ। आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ४४ करोड रकमको काठ तथा काठबाट बनेका सामग्री आयात भएकोमा आर्थिक वर्ष २०८१/८२ मा घटेर ४ अर्ब ८१ करोड रुपैयाँमा सिमित छ।
चालू आर्थिक वर्ष २०८२/८३ मा मंसिरसम्ममा १ अर्ब ७७ करोड रुपैयाँको काठ तथा काठबाट बनेका सामग्री आयात भएको छ। ३ अर्ब १५ करोड रुपैयाँको सो सामाग्रीहरु निर्यात भएको विभागको तथ्यांक छ। यो भनेको आयातको तुलनामा करिब १ अर्ब ३८ करोड रकम निर्यात बढी हो।
आयात घट्दा भन्सार राजस्वमा पनि केही गिरावट आएको छ। आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ४५ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ। पछिल्लो वर्ष राजस्व संकलन ४३ करोडमा झरेको छ। काठजन्य सामग्रीमा आत्मनिर्भर बन्दै गएको तथ्यांकले देखाएको छ।
काठ तथा काठबाट बनेका सामग्रीहरू, काठको कोइलाको आयात-निर्यात विवरण:
| आर्थिक वर्ष |
आयात |
निर्यात |
व्यापार घाटा /नाफा |
राजस्व |
| २०७८/७९ |
७४४७८७९ |
५८०२७६ |
-६८६७६०३ |
१९३७१८१ |
| २०७९/८० |
५८९४२७६ |
५०१४२२३ |
-८८००५३ |
१७६६६४९ |
| २०८०/८१ |
५१२६३५२ |
८४३६१३२ |
३३०९७८१ |
१५५३४०३ |
| २०८१/८२ |
४८१७३७० |
९४२८६९८ |
४६११३२८ |
१४५५८२९ |
| २०८२/८३ |
१७७१३६९ |
३१५१८८२ |
१३८०५१३ |
५३०४६३ |
स्रोतः भन्सार विभाग/रकम हजारमा