काठमाडौं। उम्मेदवारी विवादमा सोमबारसम्म समानुपातिकतर्फको नाममा सहमति जुटाउन नसकेको नेपाली कांग्रेसले बल्लतल्ल बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि बन्दसूची बुझाउन ढिलाइ भएको कांग्रेसले बताए पनि उम्मेदवारीमा भागबन्डा नमिल्दा विलम्ब भएको हो।
कांग्रेसले २०६४ यताका समानुपातिकबाट सांसद बनेकालाई सूचीमा नराखेको बताइएको छ। मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको प्रवक्ता डा प्रकाशशरण महतले बताए। ‘केही प्राविधिक विषय मिलाउनुपर्दा ढिलाइ भयो। आज बिहान आयोगमा बन्दसूची बुझायौं,’ प्रवक्ता महतले भने।
आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समय दिएको थियो। आयोगले दिएको समयभित्र शुल्क तिरेर भौचर काटेको कांग्रेसले बन्दसूची बुझाएको हो।
सोमबार दिउँसो पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए। तर, पछि सूचीमा समेटिएका नाम हेरफेर र प्राविधिक विषय मिलाउँदा ढिलाइ भएको प्रवक्ता डा. महतको भनाइ छ।
आयोगले देउवाको डिजिटल हस्ताक्षरलाई मान्यता नदिएपछि मंगलबार बिहान कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल बन्दसूचीमा हस्ताक्षर गराउन महाराजगन्जस्थित देउवा निवास पुगेका थिए।
कांग्रेसको बन्दसूचीमा ५ प्रतिशत जेनजी प्रतिनिधित्व, संस्थापनलाई ६० र शेखर समूहलाई ४० प्रतिशतको भागबन्डा मिलाएर उम्मेदवार छनोट गरिएको बताइएको छ।
कांग्रेसबाट समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे समेटिएका छन्। कोसीबाट १८, मधेस २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जनालाई बन्दसूचीमा राखिएको छ।