काठमाडौं। नेपालको आन्तरिक माग धान्न नसकेर विदेशबाट वार्षिक २३ करोडको च्याउ आयात हुने गरेको पाइएको छ। पछिल्ला वर्षहरूमा च्याउ खेती तीव्र रूपमा विस्तार भए पनि उत्पादनले बजारको माग धान्न नसकेको अवस्था छ।
परिणाम स्वरूप, भारत, चीन, थाइल्यान्डलगायतका मुलुकबाट नेपालमा च्याउ आयात भइरहेको छ। विशेष गरी होटल तथा रेस्टुरेन्ट क्षेत्रमै बढी प्रयोग हुने डिब्बाबन्द (क्यानिङ) च्याउको अत्यधिक आयात हुने गरेको सरकारी निकायको भनाइ छ।
भन्सार विभागले अनुसार नेपालमा पछिल्ला वर्षहरुमा च्याउ आयातमा उतार चढाव देखिएको छ। आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको तथ्यांकलाई हेर्दा आयातको परिमाण र यसमा हुने खर्चको अनुपातमा असन्तुलन देखिन थालेको हो। आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी ७८२ टन च्याउ आयात भएको देखिन्छ।
यसका लागि २३ करोड ८५ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ। यसपछिका वर्षहरूमा आयातको परिमाणमा कमी आएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा आयात घटेर ९० टनमा खुम्चिएको छ। तीन करोड ४२ लाख ४५ हजार रुपैयाँ मात्रै खर्च भएको देखिन्छ। चालू आर्थिक वर्ष २०८१/८२ मा च्याउ आयातमा झनै कमी देखिएको छ। यो वर्ष ३९ टन च्याउ आयात हुँदा दुई करोड ६६ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ।
नेपालमा च्याउ आयात विवरणः
| आर्थिक वर्ष |
आयात परिमाण (टनमा) |
जम्मा आयात (हजारमा) |
| २०७५/७६ |
३१४ |
४३०६५.९६ |
| २०७६/७७ |
३०० |
४११७८ |
| २०७७/७८ |
६८३ |
११३४२४ |
| २०७८/७९ |
७८२ |
२३८५६० |
| २०७९/८० |
३४२ |
१०७१७३ |
| २०८०/८१ |
९० |
३४२४५ |
| २०८१/८२ |
३९ |
२६६३५ |
| २०८२/८३ मंसिरसम्म |
१३ |
४५६७० |
स्रोतः भन्सार विभाग
पछिल्ला केही वर्षहरूमा नेपालको च्याउ उत्पादनमा वृद्धिसँगै व्यावसायिक खेती विस्तार भएको कारण आयातको मात्रा घट्दै गएको देखिन्छ। नेपालबाट चीन, भारत, थाइल्यान्ड र जापान जस्ता मुलुकहरूमा केही मात्रामा च्याउ निर्यात भइरहेको भए पनि यसको मात्रा न्यून रहेको कृषि विभागले जनाएको छ।
निर्यात विस्तारका लागि अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप उत्पादन गर्नुका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुने निर्यात रणनीतिहरू पनि तयार गर्न जरुरी देखिन्छ। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्द्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताएका छन्।
मन्त्री डा. परियारले प्रविधि विस्तार, बजारीकरण तथा प्रवद्र्धन गर्न कृषि विभाग अन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन, प्रवर्द्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनको आधार तय हुँदै गएको देखिन्छ। नेपालको जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिन्छ। च्याउ खेतीको व्यावसायिक उत्पादनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको मन्त्री डा. परियारले उल्लेख गरे।
कृषिमा ०.१५ प्रतिशत च्याउको योगदान
कृषि विभागका अनुसार, च्याउले कृषि उत्पादनमा ०.१५ प्रतिशत योगदान पुर्याएको छ। नेपालमा वार्षिक रुपमा १५ हजार टन ताजा च्याउ उत्पादन हुने गरेको छ। यस्तै, अन्य खेतीभन्दा छिटो र सरल तरिकाबाट उत्पादन लिन सकिने भएकाले नेपालमा यसतर्फ किसानहरुको अर्कषाण बढ्दै गएको छ। च्याउ खेतीका लागि मल, माटो र सिँचाइको खासै आवश्यकता नपर्ने भएकाले थोरै जमिन भएका निम्न वर्गीय किसानले सानो टहरा बनाएर च्याउको खेती गर्न सकिने विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले बताए।
च्याउको धेरैजसो उत्पादन र खपत काठमाडौंसँगै ठूला शहरी क्षेत्रमा मात्रै रहेको पाइन्छ।
नेपालमा प्राय मौसमी रुपमा मात्र च्याउ खेती हुँदै आएकाले यसको मुल्य अस्थिर हुने गरेको छ। ‘सिजनमा धेरै उत्पादन हुँदा किसानले उत्पादन मुल्य पाउनसमेत मुस्किल छ, भने बेमौसममा धेरै महंगो हुने गरेको छ,’ उनले भने।
सिजनमा उत्पादन भएको च्याउलाई सुकाएर वा अन्य कुनै तरिकाबाट प्रशोधन गरी बजारीकरण गर्नका लागि आवश्यक पूर्वाधार र नीति तथा कार्यक्रम नहुँदा समस्या भएको देखिन्छ। च्याउको धेरैजसो उत्पादन र खपत काठमाडौंसँगै ठूला शहरी क्षेत्रमा मात्रै रहेको पाइन्छ।
नेपालमा ताजा च्याउ उत्पादन विवरणः
| वर्ष (सनमा) |
च्याउ उत्पादन (टनमा) |
| २०१०/११ |
१५३० |
| २०११/१२ |
१५३० |
| २०१२/१३ |
१६५० |
| २०१३/१४ |
१९०० |
| २०१४/१५ |
२७०० |
| २०१५/१६ |
९३०० |
| २०१६/१७ |
१०८५० |
| २०१७/१८ |
१०५०० |
| २०१८/१९ |
११२५५ |
| २०१९/२० |
१२६०७ |
| २०२०/२१ |
१३२४१ |
| २०२१/२२ |
१४३०० |
| २०२२/२३ |
१५११७ |
स्रोतः कृषि तथा पशुपन्छी विकास मन्त्रालय
नौ प्रजाति च्याउको व्यवसायीक खेती
नेपालमा ९ प्रजाति च्याउका व्यवसायी खेती गरिदै आएको छ। जसमा गोब्रे, कन्ये, पराले, सिताके, दुधे, रातो, राजा, गुलाबी कन्ये र पहेलो कन्ये च्याउ रहेको मन्त्रालयले जनाएको छ। बढ्दो प्रतिव्यक्ति च्याउको माग, बहुस्वस्थ्यवर्द्धक गुण, कम लागतमा उत्पादन, स्वास्थ्यका दृष्टिकोणले शाकाहारी तथा प्राकृतिक खानाप्रतिको झुकावका कारण च्याउ व्यवसायको लोकप्रियता बढिरहेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, विश्वमा करिब १४ हजार प्रजातिका च्याउ पहिचान गरिएका छन्। जसमा ७ हजार प्रजाति खान योग्य र दुई सय प्रजातिहरु प्रयोगशाला स्तरमा उत्पादन योग्य छन्।
त्यस्तै, ६० प्रजातिका च्याउहरु व्यवसायिक रुपमा उत्पादन गर्न सकिने सम्भावना छ। तर, हाल विश्वभर करिब १० प्रजातिका च्याउ मात्र औद्योगिक स्तरमा उत्पादन भइरहेको छ। नेपालमा हालसम्म एक हजार १५० प्रजातिका च्याउ पहिचान भएका छन्। जसमा १४७ प्रजाति खान योग्य, ७० प्रजाति औषधीय गुणयुक्त र एक सय प्रजाति विषालु छन्।