गण्डकी। सन् २०२५ बिदा हुँदै छ। सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ। पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ। रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ।
नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ। पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरु आहोरदोहोर गरिरहेका देखिन्छन्। सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ।
मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन्। लेकसाइडको साढे तीन किमी सडकमा महोत्सव चलिरहेको छ। आइतबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्ने आयोजक रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए।
अंग्रेजी नयाँ वर्षका अवसरमा यस महोत्सव २७औँ संस्करणसम्म आइपुगेको उनको भनाइ छ। यस वर्षको महोत्सवमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको अध्यक्ष पौडेलले बताए।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल मन्त्रका साथ महोत्सव आयोजना गरिएको हो। 'आयोजक रेवान भए पनि यो सबै पर्यटन व्यवसायी र पोखरेलीहरुको उत्सव हो,' उनले भने, 'महोत्सवमा संस्कृति र सङ्गीतको समायोजन गरिएको छ, मनोरञ्जनसँगै व्यवसाय प्रवर्द्धनका सडक महोत्सव सफल हुने हाम्रो विश्वास छ।'
नयाँ वर्षको स्वागतका लागि बुधबार राति स्थानीय गोमागाने पार्कमा विशेष साङ्गीतिक उत्सवको आयोजना गरिएको छ। जहाँ पोखराली ब्यान्ड डी-मर्चा, लेकाली, देउराली, एक्स नेपथ्यलगायत गुञ्जिने भएका छन्। महोत्सवमा हस्तकला सामग्री र कृषि उपजलाई बिक्री तथा प्रदर्शनमा राखिएको छ। पोखराको पहिचान झल्काउने वृत्तचित्र र तस्बिर प्रदर्शनी भइरहेको छ।
सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि र खेलकुदको समेत आयोजना गरिएको छ। सिन्धुलीको पञ्चेबाजा, थारू नाचसहित गुरुङ, मगरहरुको सांस्कृतिक नाच र गीतले महोत्सवमा मौलिकता थपेको छ। सोमबार ‘जिम्मेवार पर्यटन’ विषयमा विज्ञहरुसहितको सडक बहस आयोजना गरिएको थियो।