चितवन। नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्ष झैं यसवर्ष पनि कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आयोजना गर्ने भएको हाे।
आगामी माघ २ देखि ४गतेसम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुनेछ। आयोजना हुन गइरहेको प्रर्दशनीमा नेपाल, भारत, चीनलगायतका विभिन्न देशका कृषिसम्बन्धी कम्पनीका १०० भन्दा बढी स्टलहरु रहने छन्।
यस प्रर्दशनीमा कृषिका विभिन्न विधा जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम, र वित्तीय सुविधाबारेमा जानकारी प्राप्त गर्न सकिनेछ।
उक्त प्रर्दशनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको आयोजक कम्पनीले बताएका छन्।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजारदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरुको प्रदर्शनीलगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीकाे दाबी छ।