काठमाडौं। अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतमा घुमफिर र मनोरञ्जनमा रमाउने नेपालीको चाप बढेसँगै काठमाडौं उपत्यकाका डाँडाकाँडादेखि प्रमुख पर्यटकीय गन्तव्य पोखरा र सौराहासम्मका होटल तथा रिसोर्ट भरिभराउ भएका छन्। पछिल्लो समय आन्तरिक पर्यटकको सक्रियताले पर्यटन व्यवसायमा उल्लेखनीय चलायमानता देखिएको व्यवसायी बताउँछन्।
विशेषगरी मंगलबार (आज) सार्वजनिक बिदा परेकाले लामो सप्ताहन्तको फाइदा उठाउँदै ठूलो संख्यामा पर्यटक घुमघाममा निस्कँदा होटल लगभग पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। काठमाडौं नजिकैको प्रमुख गन्तव्य चन्द्रागिरी डाँडामा अवस्थित पाँचतारे होटल चन्द्रागिरी हिल्स रिसोर्टले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको इभका लागि होटल ‘सोल्ड आउट’ भएको जानकारी दिएको छ। होटल व्यवस्थापनका अनुसार नयाँ वर्षकै अवसरका लागि सबै कोठा अग्रिम बुकिङ भइसकेका छन्।
होटल एसोसिएसन अफ नेपाल (हान)का पूर्वअध्यक्ष तथा नगरकोटस्थित क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले आन्तरिक पर्यटकका कारण नगरकोट क्षेत्रका होटलहरू भरिन थालेको बताए। ‘ल्होछारदेखि नै नयाँ वर्षलाई लक्षित गरी बुकिङ बढेको छ,’ उनले भने, ‘नगरकोट क्षेत्रका अधिकांश होटल भरिभराउ छन्। यो आन्तरिक पर्यटनको सकारात्मक संकेत हो।’
सौराहामा पनि उस्तै उत्साहजनक अवस्था देखिएको छ। हानका केन्द्रीय सदस्य तथा जंगल बाराही सौराहाका कार्यकारी निर्देशक सुमन घिमिरेले नयाँ वर्षको इभलाई लक्षित गरी पर्यटक आगमन बढ्दै गएको जानकारी दिए। ‘आन्तरिक पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढिरहेको छ,’ उनले भने, ‘बुकिङ तथा इन्क्वायरी गर्नेहरूको संख्या पछिल्ला दिनमा निकै बढेको छ।’
लामाले कालिञ्चोक जान चाहने पर्यटकलाई अग्रिम होटल बुकिङ गरेर मात्र यात्रा गर्न आग्रह गरेका छन्।
पर्यटकीय राजधानी पोखरामा पनि नयाँ वर्षको रौनक देखिन थालेको छ। पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष तथा होटल रानीवन आर्केडका सञ्चालक हरि भुजेलका अनुसार मंगलबारदेखि होटलहरू भरिन थालेका छन्। नयाँ वर्षलाई लक्षित गरी पोखरामा विभिन्न मेला, महोत्सव र सांगीतिक कार्यक्रम आयोजना भइरहेकाले आन्तरिक पर्यटकको भिड बढेको उनको भनाइ छ।
यस्तै, दोलखाका कालिञ्चोक, चरिकोट, जिरी र शैलुङ क्षेत्रमा पनि आन्तरिक पर्यटकको चहलपहल तीव्र बनेको छ। कालिञ्चोकस्थित कन्ट्री भिल्लाका सञ्चालक नोर्बु लामाले आफ्नो होटल पूर्ण रुपमा बुक भइसकेको जानकारी दिए। पछिल्ला दिनमा चिसो बढ्दै गएको र हिउँ पर्ने सम्भावना रहेकाले कालिञ्चोकको आकर्षण झनै बढेको उनले बताए।
लामाले कालिञ्चोक जान चाहने पर्यटकलाई अग्रिम होटल बुकिङ गरेर मात्र यात्रा गर्न आग्रह गरेका छन्। ‘अग्रिम बुकिङ नगरी आउँदा होटल नपाउने वा महँगो शुल्क तिर्नुपर्ने जोखिम हुन्छ,’ उनले भने, ‘त्यसले अपेक्षित गुणस्तरीय सेवा नपाउने सम्भावना पनि बढाउँछ।’
काठमाडौं नजिकको गन्तव्यभित्र पर्ने धुलिखेल, रानीकोट र इन्द्रस्थान क्षेत्रका होटलहरु पनि भरिभराउ भइरहेको जनाएको छ। रानीकोटमा रहेको होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बाकेले त्यस क्षेत्रका होटलमा आन्तरिक पर्यटकको चहलपहल बढेको जानकारी दिए।