काठमाडौं। देशको राजनीति विषम परिस्थितिमा गुज्रिएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै बनेको कार्की नेतृत्वको सरकारले जसरी भए पनि निर्वाचन गराएर दलहरूको हातमा सत्ता सुम्पिने बताउँदै आएको छ। आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएसँगै निर्वाचन हुनेमा ढुक्क भएको संकेत दिइन्।
ठूला दलहरू निर्वाचनको पक्ष र विपक्षीमा हुँदा गत शनिबार प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर वातावरण सहज बनाउने काम गरिन्। बैठकबाट बाहिरिँदै कांग्रेस सभापति शेर बहादुर देउवाले सबै दलहरू चुनावमा होमिएको प्रतिक्रिया दिए।
देश चुनावमा गएसँगै नयाँ दलहरू र साना दलहरू तीव्र गतिमा एकता गर्न व्यस्त देखिएका छन्। जसमा सबैभन्दा प्रभावकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौंका मेयर र उज्यालो नेपाल पार्टी (उनेपा)को एकताले रहेको छ।
सोमबार मात्रै रास्वपा सभापति रवि लामिछाने, मेयर बालेन शाह (बालेन्द्र) र ऊर्जा मन्त्रीसमेत रहेका उनेपाका संरक्षक कुलमान घिसिङले पार्टी एकता गर्ने गरी त्रिपक्षीय सात बुँदे सहमति गरे। यसअघि रवि र बालेनले पनि सात बुँदे सहमति गरेका थिए।
जेनजी आन्दोलनमा प्रधानमन्त्रीको सरकारी निवासबाट हेलिकप्टरमा गोप्य स्थानमा भागेका तत्कालीन प्रधानमन्त्रीसमेत रहेका अोलीले आफूहरूले नै आगामी सरकारको नेतृत्व गर्नेमा ढुक्क देखिएका छन्।
यो सात बुँदे त्रिपक्षीय सम्झौतामा रास्वपा सरकारमा नेतृत्व गरेर जाने अवस्था आए भावी प्रधानमन्त्री बालेन हुने, पार्टी सभापतिमा रवि र दोस्रो वरीयताको नेता हुँदै कुलमान उपसभापति बनेका छन्।
रास्वपासँगै चुनावलाई लक्षित गर्दै मधेसवादी दलहरू एकतामा रफ्तारले लागेको छ। जसमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बीच एकताको सहमति भएको छ।
यसैगरी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, सञ्जुहाङ पालुङ्वा पक्षधर नेपाल जनमुक्ति पार्टी र त्रिनारायण राजवंशी नेतृत्वको कोचिला संघर्ष समितिबीच एकता भएको छ। यस्तै, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल एकताको तयारीमा छ।
यस्तै, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पनि एकता हुने भएको छ। यसअघि यी दुई नेता सहाधिवेशनमा भिडेका थिए। लिङ्देनले थापालाई हराएपछि उनले छुट्टै पार्टी बनाएर एमालेको चुनाव चिह्नमा चुनाव लडेर पराजित भएका थिए।
यी दलहरू चुनावी एकतामा लाग्नुअघि पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा तत्कालीन नेकपा माओवादी केन्द्रसहित पूर्वप्रधानमन्त्री तथा (नेकपा) सहसंयोजक माधव नेपाल नेतृत्वको पार्टीसहित विभन्न पार्टी तथा गुटको एकता भएको थियो।
चुनावी मुखमा साना पार्टीहरूले एकतालाई तीव्रता दिइरहँदा दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले भने आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूहरूले गर्नेमा ढुक्क देखिएका छन्।
साना दलहरूले चुनावी एकतालाई तीव्रता दिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले खुकुरा र बाख्राको एकताले केही नहुने बताउन भ्याए। रास्वपा, उनेपा र मेयर बालेनबीच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालको एकता भएका प्रतिक्रिया दिए। ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छरु’ओलीले प्रश्न गर्दै भने।
यस्तै, उनले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हाँस्यास्पद रहेको बताए। ‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ। एमाले-कांग्रेसबाहेक अरुले सरकार बनाउन सम्भव छ र?’ उनले प्रश्न थपे।
जेनजी आन्दोलनमा प्रधानमन्त्रीको सरकारी निवासबाट हेलिकप्टरमा गोप्य स्थानमा भागेका तत्कालीन प्रधानमन्त्रीसमेत रहेका अोलीले आफूहरूले नै आगामी सरकारको नेतृत्व गर्नेमा ढुक्क देखिएका छन्।
यता, नेपाली कांग्रेस पनि चुनावपछि बन्ने सरकारको नेतृत्व आफूहरूले गर्नेमा ढुक्क देखिएको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले देश जलाउने लुसिफरहरूबाट कुनै खतरा नरहेको टिप्पणी गर्दै पार्टी सत्ता आफूहरूको हातमा आउने विश्वस्त देखिएका हुन्।
काठमाडौंमा आयोजितना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले मेयर बालेनप्रति यस्तो टिप्पणी गरेका हुन्। उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा नेपालको लोकतान्त्रीकरणका लागि संघर्ष गरेका अनेकौं धरोहर जलाउनेले देश बनाउन नसक्ने दाबी गरे।
कांग्रेसलाई आगामी फागुन २१ गते हुने निर्वाचनभन्दा पार्टीभित्र महाधिवेशनको माग चर्को बन्दै आएको छ। संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने तयारी गरिरहँदा दुई महामन्त्रीसहित विपक्षी पक्षले नियमित महाधिनवेशन नभए विषेश महाधिवेशन हुनुपर्ने माग राख्दै आएका छन्। यसबीच आगामी सरकारको नेतृत्व आफूहरूले गर्नेमा नेताहरू ढुक्क देखिएका छन्।