काठमाडौं। प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले ५० वर्षे स्वर्ण जयन्ती समारोहमा पर्यटन क्षेत्रमा अतुलनीय योगदान र्पुयाएका व्यक्तिहरूलाई सम्मानित गरेको छ।
२९ डिसेम्बर २०२५ का दिन रोयल ट्युलिप काठमाडौंमा भव्य रूपमा आयोजित समारोहमा जीवनभर पर्यटन, दिगोपन, संरक्षण तथा आतिथ्य क्षेत्रमा योगदान पुर्याएका कर्ण शाक्यलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, नेपालको पर्यटनमा निरन्तर योगदान दिने विजय अमात्यलाई ‘टुरिजम पर्सनालिटी अफ द इयर’, दिगो पर्यटनको नेतृत्व गर्ने शिव ढकाललाई ‘टुरिजम ट्रेल ब्लेजर अवार्ड’, पाटा र साहसिक तथा सांस्कृतिक पर्यटनको विकासमा अग्रणी भूमिका निभाउने एन्थोनी लिन्डसे जोन्सलाई ‘विशेष योगदान पुरस्कार’ प्रदान गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले पाटा नेपाल च्याप्टरको योगदानको प्रशंसा गरे।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले संस्थापक अध्यक्षदेखि हालसम्मका सवै पूर्व तथा वर्तमान नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै च्याप्टरको ५० वर्षे यात्रामा निरन्तर विश्वास र सहकार्य प्रदान गर्ने सदस्य तथा साझेदारहरूलाई धन्यवाद दिए।
कार्यक्रममा ‘पाटा नेपाल च्याप्टरको सार्वजनिक-निजी साझेदारीको ५० वर्षे यात्रा’ शीर्षकको विशेष स्मारक भिडियो प्रदर्शन गरिएको थियो। जसमा सन १९७५ देखि हालसम्म च्याप्टरले हासिल गरेका प्रमुख उपलब्धि तथा योगदानलाई उजागर गरिएको थियो।
स्वर्ण जयन्ती समारोहले पाटा नेपाल च्याप्टरको दिगो, समावेशी र लचिलो पर्यटन विकासप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै, पाँच दशकको साझा यात्रालाई उत्सवका रूपमा मनाएको छ।