काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र उपचारका लागि डेढ खर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न प्रतिवद्धता पाएको छ ।
दाताबाट पाएको सो रकम स्वास्थ्यमा खर्च गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो ।
उनले कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको उनले जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको बताए ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले कोरोना विरुद्धको लडाईमा बजेट अभाव हुन नदिएको बताए ।
मन्त्री खतिवडाले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिले सम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भए अनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको बताए ।
कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरिएको र सीमा नाकाहरु पूर्ण रुपमा बन्द भएकोले राजश्वमा चाप परेको समेत मन्त्री खतिवडाले बताए । भन्सार नाकाबाट मासिक लक्ष्यको एक चौथाई मात्र राजस्व संकलन भएको र भन्सार, मूल्यवृद्धि कर, अन्तशुल्क असुली सबैमा कमि आउँदा राजस्व संकलनमा चाप परेको उनले जानकारी दिए ।
लकडाउन लम्बिदै जाँदा सबै क्षेत्रका काम ठप्प भएकाले सरकारको खर्चमा समेत प्रभाव परेको उनले जानकारी दिए । चैत मसान्तसम्म कुल चालु तर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात ४ खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ ।
यस्तै पूँजीगत तर्फ वार्षिक लक्ष्यको करिब २६ प्रतिशत अर्थात १ खर्ब ५ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० प्रतिशत अर्थात ८४ अर्ब रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले बताए ।