काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद् नरहेको खुलासा गर्दै विमानस्थल सुधारमा दुई महिनाभित्र ठोस परिवर्तन देखिनुपर्ने निर्देशन दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को २७औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा देखिने ‘कस्मेटिक’ सुधार भए पनि सामान्य यात्रु र पर्यटकको दृष्टिकोणबाट अनुभव अझै असहज रहेको बताए।
‘काठमाडौं विमानस्थलबाट यात्रा गर्दा मेरो अनुभव सुखद रहेन,’ उनले भने, ‘कस्मेटिक सुधार भयो होला, तर सामान्य मान्छे र पर्यटकका रूपमा अनुभव अझै राम्रो छैन।’ आफूले ती असहजता प्रत्यक्ष रूपमा भोगेको उल्लेख गर्दै उनले ससाना तर महत्वपूर्ण विषयहरू सम्बोधन गर्न चुकिएको टिप्पणी गरे।
मन्त्री सिन्हाले विमानस्थल सुधारसँगै हवाई सुरक्षामा पनि विशेष ध्यान दिन निर्देशन दिए। आफू मन्त्रीका रूपमा सीमित समयमै रहेको उल्लेख गर्दै उनले दबाब र बहानाबाट मुक्त भएर काम गर्न आग्रह गरे।
‘अब बाहाना नबनाउनुस्,’ उनले भने,‘दुई महिनामा एभियसन सेफ्टीमा ठोस काम देखिनुपर्छ। यो समय काफी छ, म काम चाहन्छु, तपाईं खटिनुस्।’
निर्वाचनपछि आउने नयाँ सरकारलाई कामको स्पष्ट आधार तयार पार्न पनि उनले प्राधिकरणलाई आग्रह गरे। ‘दुई महिनामा के–के गरेर देखाउन सक्नुहुन्छ, त्यसको सुरुवात गरेर नयाँ सरकारलाई हस्तान्तरण गर्नुस्,’ उनले भने।
मन्त्री सिन्हाले क्यानको लेखा व्यवस्थापन र सम्पत्ति सुरक्षाप्रति समेत असन्तुष्टि जनाए। कालोसूची (ब्ल्याकलिस्ट) तथा नयाँ विमानस्थललाई नियमित सञ्चालनमा ल्याउने योजनामा अपेक्षित प्रगति नदेखिएको उनको भनाइ थियो।
भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सम्भावना खोज्न अग्रसर हुन निर्देशन दिँदै उनले त्यहाँ भएको लगानीबाट प्राप्त हुने राजस्व नै प्राधिकरणको सफलताको मापन हुने बताए। ‘भैरहवा र पोखरामा भएको लगानीले राजस्व उठाउँछ कि उठाउँदैन, त्यसैले प्राधिकरणको कार्यक्षमता मापन हुन्छ,’ मन्त्री सिन्हाले स्पष्ट पारे।