चितवन। अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो। पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन्।
क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे। सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएका छन्। थपिएसँगै ७० प्रतिशत हाराहारी पुगेको थियो। आज साँझ भने सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको छ।
उनले भने, '९० प्रतिशतभन्दा माथि कोठाहरु पर्यटकले भरिने छन्।' मौसमका कारण विगत चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन-नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा अझै सोचे जति पर्यटक आउन नसकेको उनी बताउँछन्।
जेनजी आन्दोलनपछि निरास बनेका व्यवसायी पछिल्ला दिनहरुमा पर्यटकको आगमन राम्रो भएपछि आशावादी बनेको उनले बताए। होटल संघ नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका सौराहाको जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे नयाँ वर्षसँगै सौराहा भरिभराउ भएको बताउँछन्। नयाँ वर्षको अघिल्लो दिन आफ्नो होटल अग्रिम रुपमा भरिने गरेको भन्दै उनले रातिसम्ममा सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको बताए।
क्षेत्रीय होटल सङ्घ नेपालका पूर्वअध्यक्ष दीपक भट्टराईले आफ्नो होटल भरी सकिएको बताए। अहिले ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक भएको उनको भनाइ थियो। उनले भने, 'नयाँ वर्षमा यहाँ खुला र होटलहरुले गर्ने कार्यक्रममा रमाउन पर्यटक आउने गर्दछन्।'
सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिन थालेका छन्। रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान)का पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटक आउने क्रम बढ्दो छ। साँझ अबेर हुँदै गर्दा सौराहाको बगर क्षेत्र भरिने उनी बताउँछन्।
सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटक नयाँ वर्ष मनाउन आउने गर्दछन्। तेस्रो मुलुकका पर्यटक यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय तथा स्वदेशी पर्यटक धेरै हुने गर्दछन्।