काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौं उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ ।
ढोहाहिटी–लेले, कर्मनाशा खोला–गोदावरी कुण्ड, इमाडोल–लामाटार र जोरपाटी–सुन्दरीजल सडकमा निर्माण शुरु भएको हो । यी सडकमा रुख काट्ने, ह्विमपाइप हाल्ने, पर्खाल र पैदल यात्रु मार्ग निर्माणगायतका काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए ।
निर्माण सामग्री र जनशक्ति उपलब्ध सडकमा नै निर्माण अघि बढिरहेको उनले बताए । उनले भने, ‘धेरै जनशक्ति नचाहिने र उपलब्ध सामग्रीबाटै गर्न सकिने काम भइरहेको छ ।’
चापागाउँ–ढोलाहिटी सडकमा दुईओटा ठेक्कामध्ये एउटामा काम भइरहेको र अर्कोमा नभएको आयोजनाले जानकारी दिएको छ । टाखेलबाट लेलेसम्मको खण्डमा अहिले आवश्यक पूर्वाधार निर्माण भइरहेको उनले बताए ।
सुन्दरीजल–जोरपाटी सडकमा दुईओटा ठेक्कामध्ये दुवैमा काम भइरहेको छ । यो सडकमा पनि संरचना निर्माणकै काम बढी भइरहेको छ । यहाँ रुख हटाउने, हिमुपाइप राख्ने, पैदल यात्रु मार्ग निर्माणलगायतका काम अघि बढेको प्रमुख अधिकारीले बताए ।
यस सडकमा ६७ रुख हटाउनुपर्ने भए पनि अहिलेसम्म ५८ रुख मात्रै हटाइएको छ । नौ रुख विद्युत्को तारका कारण हटाउन सकिएको छैन । रुख हटाउनका लागि विद्युत् प्राधिकरणलाई पत्राचार गरिएकामा प्राधिकरणले ‘सट डाउन’ गर्नुपर्ने भए पनि अहिले गर्न नसकिने बताएको थियो ।
निर्माणाधीन इमाडोल–लामाटार सडकमा तीन ठेक्कामध्ये अहिले दुई ठेक्कामा काम भइरहेको छ । यो सडकमा पनि ह्विमपाइप बिच्छाउने काम भइरहेको छ भने गोदावरी सडकमा पैदलयात्रु मार्ग निर्माणकै काम भइरहेको छ ।
अहिले भइरहेकै सामग्री र जनशक्तिबाट निर्माण भइरहे पनि जनशक्ति र निर्माण सामग्री थप्न सकिने अवस्था छैन । डिभिजन सडक कार्यालय काठमाडौँले ‘ओभर ले’ शुरु गरेकामा अहिले निर्माण सामग्री नहुँदा निर्माण अघि बढिरहेको छैन ।
विस्तारित सडकमा पनि सडक पूर्णरुपमा काम गर्न निर्माण सामग्रीको अभाव रहेको छ । ललितपुरको लेले र काभ्रेपलाञ्चोकको दोलालघाटबाट निर्माण सामग्री ल्याइने गरेकामा अहिले सामग्री ल्याउन नसकिएको प्रमुख अधिकारीले बताए ।
त्यस्तै, कतिपय जनशक्ति पनि काम नहुँदा केही समय पहिले घर फर्किएका थिए । उनले भने, ‘काठमाडौंमै रहेका कामदारलाई काम लगाए पनि अहिले जिल्लाबाट ल्याउन सकिने अवस्था छैन ।’
आयोजनाले चालू आवमा झण्डै आठ किमी सडक कालोपत्र र २५ किमी सडकमा पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको थियो । आंसिकरुपमा काम भइरहे पनि लक्ष्यअनुसार गर्न नसकिने उनले बताए । शुरु भएका ठेक्कामा पनि निर्माण सामग्रीको अभावसँगै यातायातको पनि समस्या रहेको छ । उनले भने, ‘हामीलाई आवश्यक मात्रामा पास उपलब्ध भइरहेको छैन ।’
सरकारले विसं. २०७२ मा उपत्यकामा १० सडक विस्तार शुरु गरेको थियो । आयोजनाले काठमाडौंमा चार, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण शुरु गरेको थियो । तीमध्ये त्रिपुरेश्वर–कङ्की–नागढुङ्गा सडक निर्माण सम्पन्न भएर आवश्यक मर्मतको काम भइरहेको छ ।
चाबहिल–साँखु सडकमा पनि थोरै सडक मात्रै कालोपत्र बाँकी छ । निर्माणाधीन दुई पुलमध्ये बिजुलीबजारस्थित धोबीखोला पुल केही महीना पहिले नै निर्माण सम्पन्न भएर सञ्चालनमा छ भने तीनकुनेस्थित वाग्मती पुल अझै अलपत्र अवस्थामा छ ।
पहिले साबिक छ/ सात मिटरसम्म चौडाइ रहेको सडकलाई २० देखि २२ मिटर चौडा बनाउने गरी ठेक्का सम्झौता भएको थियो । त्यतिबेला निर्माणस्थल खाली गराउँदै काम गर्ने भन्दै सरकारले ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि कतिपय स्थानमा निर्माणस्थल खाली हुन सकेको छैन । रासस