काठमाडौं। सन् २०२६ नेपाली अर्थतन्त्रका लागि नयाँ आत्मविश्वास बोकेको वर्ष बन्दै छ। ठूला सहरदेखि पर्यटकीय गन्तव्यसम्म लक्जरी होटलहरू थपिँदै छन्। जसले पर्यटनलाई मात्र होइन, रोजगारी र सेवा उद्योगलाई पनि नयाँ उचाई दिने संकेत गरेको छ। अर्कोतर्फ, उत्पादन, प्रशोधन र निर्यातमुखी नयाँ उद्योगहरू खुल्दै जाँदा घरेलु लगानी सक्रिय बन्दै गएको छ।
पूर्वाधार, उपभोग र सेवामा बढ्दो मागले बजारलाई चलायमान बनाएको छ। नीतिगत स्थिरता र निजी क्षेत्रको उत्साह कायम रहन सके २०२६ मा नेपाल व्यवसायिक सम्भावनाको केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गर्न सकिन्छ।
सांग्रिलाको तीन लक्जरी रिसोर्ट सञ्चालनमा आउने
२०२६ भित्रै सांग्रिला होटल एन्ड रिसोर्ट ग्रुपको तीन वटा लक्जरी रिसोर्ट सञ्चालनमा आउने भएको छ। सांग्रिला होटल एन्ड रिसोर्ट ग्रुपका कार्यकारी निर्देशक प्रविण पाण्डेले पोखरामा २ वटा र चितवनमा १ वटा लक्जरी रिसोर्ट २०२६ भित्रमा सञ्चालनमा आइसक्ने जानकारी दिए।

सांग्रिलाले स्थापकीय जिम्मेवारी विश्वप्रसिद्ध होटल व्यवस्थापन कम्पनी ‘आइएचजी होटलल्स एन्ड रिसोर्ट’लाई दिएको छ। २०२६ भित्रमा पोखरा घारीपाटनमा ‘होटल इन्डिगो पोखरा’, पोखरा बेगनास तालमा ‘इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेक’ र चितवन मेघौलीमा ‘इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन’ सञ्चालनमा आइसक्ने छ।
आठ अर्ब लगानीमा जे डब्लु म्यारियट निर्माण हुने
उद्योगी शशीकान्त अग्रवालले एमएस ग्रुपअन्तर्गत रहेको एभरेष्ट हस्पिटालिटीले पाँचतारे लक्जरी होटल जे डब्लु म्यारियट निर्माण गर्ने तयारी गरेका छन्। भक्तपुरको नयाँ ठिमीमा २० रोपनी क्षेत्रफलमा निर्माण हुने जे डब्लु म्यारियटमा जग्गासहित आठ अर्ब लगानी हुने उद्योगी अग्रवालको भनाइ छ।
करिब २०० कोठा रहने होटललाई डेस्टिनेशन वेडिङका लागि उत्तम गन्तव्य बनाउने योजना बनाइएको छ। स्वदेशी एवं विदेशीहरूलाई डेस्टिनेशन वेडिङका लागि जे डब्लु आकर्षणको केन्द्र हुने गरी संरचनाहरू निर्माण गर्ने उनको भनाइ छ। भारत, बंगलादेश र अन्य दक्षिण एसियाली मुलुकका उच्च वर्गीय ग्राहकका लागि नेपाल सहज र आकर्षक डेस्टिनेशन बन्न सक्छ।
१२ वटा भाटभटेनी सञ्चालनमा आउने
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी २०२६ भित्रै सञ्चालनमा आउने भएको छ। भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले ध्वस्त संरचनाको पुर्ननिर्माणको काम तीव्र गतिमा भइरहेको बताउँदै २०२६ मा १२ वटै सञ्चालनमा आउने जानकारी दिए।

१० हजारभन्दा बढीलाई एकसाथ रोजगारी दिइरहेका गुरुङले नयाँ रोजगारी सिर्जना गरी राज्यलाई धेरैभन्दा धेरै कर तिर्न आफ्नो लगानी सधैँ गरिरहने बताए।
मुलुकभित्रै उद्योग व्यवसाय सञ्चालन गरेर धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने र धेरै राजश्व सरकारलाई बुझाउने योजना रहेको उनले बताए। ‘म सधैँ आशावादी र उत्साहमा रमाउने व्यक्ति हुँ,’ अध्यक्ष गुरुङले भने, ‘२०२६ लाई पुर्ननिर्माण वर्षको रुपमा लिएर सबै संरचना सञ्चालनमा ल्याउने छु।’ चितवनमा कोल्डस्टोर पनि २०२६ भित्रै सञ्चालनमा आउने उनले जानकारी दिए।
भैरहवामा गार्मेन्ट उद्योग सञ्चालनमा आउने
व्यवसायी उमेश श्रेष्ठसँगको सहकार्यमा भाटभटेनी समूहले करिब डेढ अर्ब लगानीमा निर्माण सुरु गरेको गार्मेन्ट उद्योग २०२६ भित्र सञ्चालनमा आउने छ। भाटभटेनीका अध्यक्ष गुरुङले उद्योगको निर्माण द्रुत गतिमा भइरहेको बताए। उद्योग सञ्चालनमा आएपछि एकसाथ एक हजार २०० भन्दा बढीले रोजगारी पाउने छन्। उद्योग स्थापनाका लागि २०२५ मा भूमि पुजा गरिएको थियो।

अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने उद्योग आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण भइरहेको छ।
आइएमई ग्रुपको जालपादेवी केबलकार सञ्चालनमा आउने
आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भइरहेको जालपादेवी केबलकार २०२६ भित्रै सञ्चालनमा आइसक्ने छ। केबलकारको कूल लम्बाई तीन दशमलव एक किलोमिटरको हुनेछ। केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन्। सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ। केबलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ।
आइएमई ग्रुपका सचिन ढकालले केबलकारसँगै १६ वटा कोठाको इला होटलसमेत सञ्चालनमा आउने बताए। ‘अहिले केबलकार निर्माण द्रुत गतिमा भइरहेको छ,’ सञ्चालक ढकालले भने, ‘केबलकारसँगै होटल पनि सँगै सञ्चालनमा आउने छ।’
उपायको वेयरहाउस सञ्चालनमा आउँदै
उपायको नयाँ ३ पीएल वेयरहाउस २०२६ भित्रै सञ्चालनमा आउने भएको छ। काभ्रेको बनेपा नगरपालिका १३ मा करिब १८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको नेपालको लजिस्टिक्स क्षेत्रमा प्रविधि र पूर्वाधारको कमीलाई महसुस गर्दै उपायले आफ्नो पहिलो ३ पीएल वेयरहाउस निर्माण गरिरहेको हो।

करिब एक अर्ब १५ करोड लगानीमा निर्माण भइरहेको वेयरहाउसले ग्राहकलाई भण्डारण तथा इन्भेन्टरी व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गरी आफ्नै मुख्य व्यवसायमा व्यवसायलाई विस्तार गर्न सहज बनाउने छ।
उपायले निर्माण गरिरहेको वेयरहाउसले विभिन्न प्रकारका ग्राहक जस्तै फास्ट मुभिङ कन्जुुमर गुड्स फास्ट मुभिङ कन्ज्युमर ड्युरेबल्स, ई-कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा, जुत्ता, सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स तथा अटो पाट्र्सको ईन्भेन्टरी व्यवस्थापनको कार्य गर्ने छ।
अपर मुस्ताङमा दुई वटा शिन्ता मणि रिसोर्ट निर्माण हुँदै
नेपालमा महँगा पर्यटक आकर्षण गर्दै आएको शेर्पा हस्पिटालिटीले अपर मुस्ताङमा दुई वटा शिन्ता मणि रिसोर्ट बनाउने भएको छ। प्रतिव्यक्ति दैनिक २ हजार अमेरिकी डलर तिरेर न्यूनतम ५ दिन बस्नुपर्ने अवधारणासहित सञ्चालनमा आएको शिन्तामणि मुस्ताङको सफलतापछि शेर्पा हस्पिटालिटी ग्रुपले अपर मुस्ताङमा दुई वटा रिसोर्ट बनाउने भएको हो।

शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नाम्गेल शेर्पाले २०२६ बाट एक साथ दुई वटा रिसोर्ट निर्माण गर्न लागिएको बताए। अपर मुस्ताङको छुक्साङ र लोमान्थाङमा दुई वटा शिन्तामणि खोल्ने तयारी अघि बढेको उनले बताए।
दुवै ठाउँमा बन्ने शिन्तामणि जोमसोममा चलिरहेको रिसोर्टभन्दा अझ प्रिमियम, वशेष र अनुभूति–केन्द्रित हुने योजना छ। प्रत्येक रिसोर्टमा करिब १५/१५ वटा मात्र ‘स्वीट’ कोठा रहने छन्।
वाणिज्य बैंक बन्दै मुक्तिनाथ विकास बैंक
करिब दुई दशकअघि तीन जिल्ला कार्यक्षेत्र लिएर स्याङ्जामा स्थापना भएको मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक हुने भएको छ। अर्थात चाँडै ‘क’ वर्गको वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ। बैंकले वाणिज्य बैंक हुनका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको हो।

मुलुकको वित्तीय प्रणालीलाई सुदृढ र सीमित संख्यामा केन्द्रित गर्ने राष्ट्र बैंकको ‘बिग मर्जर’ नीतिका बावजुद, बलियो वित्तीय आधारशिला बनाएको मुक्तिनाथ विकास बैंकले ‘क’ वर्गको वाणिज्य बैंकमा स्तरोन्नति हुन औपचारिक रूपमा नियामक निकाय समक्ष निवेदन दर्ता गराइसकेको बैंकका पूर्वअध्यक्ष भरतराज ढकालले जानकारी दिए।
बैंकको १९औं वार्षिक साधारणसभाले आवश्यक पुँजी वृद्धिसहित स्तरोन्नतिको प्रस्ताव पारित गरेपछि मुक्तिनाथले आफ्नो लामो समयदेखिको तयारीलाई मूर्त रूप दिएको हो। बैंकले देशव्यापी रूपमा ४८ जिल्लामा १७९ वटा शाखा विस्तार गरी ठूलो सञ्जाल र १४ लाखभन्दा बढी सेवाग्राही जुटाएको छ। वित्तीय सूचकहरूमा पनि मुक्तिनाथ अब्बल देखिएको छ। गत आर्थिक वर्षमा बैंकले एक अर्ब ५३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
सिजी होल्डिङको भंगेरी दरबार सञ्चालनमा आउँदै
चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङ्सले नगरकोटमा तयार पारिरहेको लक्जरी रिसोर्ट भंगेरी दरबार २०८२ जेठभित्रै सञ्चालनमा आउने भएको छ। लामो समयदेखि निर्माण भइरहेको रिसोर्ट कोभिड १९ र त्यसपछि जारी आर्थिक मन्दीका कारण सञ्चालनमा ढिलाइ भइरहेको थियो।

एक अर्ब लगानीमा निर्माण भएको रिसोर्ट साढे २६ रोपनी क्षेत्रफलमा फैलिएको छ। नगरकोट क्षेत्रमा रहेका होटल तथा रिसोर्टमध्ये सबैभन्दा लक्जरी बनाउने उद्देश्यका साथ सिजी होल्डिङ्सले निर्माण गरिरहेको सो रिसोर्टमा ५१ वटा कोठा तयार भएको छ।
गोदावरी फरेस्ट रिसोर्ट सञ्चालनमा आउँदै
ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। एक अर्ब ९५ करोड लागतमा निर्माण भएको रिसोर्टको व्यवस्थापन अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले लिएको छ।

निर्माण सुरु भएको करिब ६ वर्षपछि रिसोर्ट पूर्ण रुपमा तयार भई सञ्चालन गर्न लागिएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए। ‘अबको केही महिनाभित्रै पूर्ण सञ्चालनमा ल्याउने गरी अहिले सफ्ट लन्च गरिएको छ,’ सञ्चालक श्रेष्ठले भने, ‘पाँचतारे स्तरको रिसोर्ट तयार भएको छ।’
रिसोर्टमा ८३ वटा सुविधासम्पन्न कोठा छन्। ३ वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्वीमिङ पुल, २ वटा रेस्टुरेन्ट, एउटा वटा बोर्ड रुम रहेको रिसोर्टमा ३०० बढी क्षमताको बैंक्विट हलसमेत छ।