काठमाडौं। सन् २०२५ मा काठमाडौंमा दुईवटा ठूला क्यासिनो थपिएका छन्। बूढानीलकण्ठमा सञ्चालित पाँचतारे होटल लेमन ट्री र केशरमहलमा सञ्चालित चारतारे होटल बाराही काठमाडौंमा वादशाह क्यासिनो सञ्चालनमा आएको हो।
पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीले काठमाडौंमा दुई ठूला क्यासिनो सञ्चालनमा आइसकेको जानकारी दिए। पर्यटन प्रवर्द्धनसँगै होटल उद्योगको आम्दानी स्रोत विविधीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका यी क्यासिनोले रोजगारी सिर्जना, कर राजस्व वृद्धि र लम्बिएको पर्यटक बसाइमा योगदान गर्ने अपेक्षा गरिएको उनले बताए।
नेपालभर क्यासिनो संख्या २७ वटा पुगेका छन्। लेमन ट्रीमा गरुड र काठमाडौं बाराहीमा वादशाह क्यासिनो सञ्चालनमा आएको हो। नेपालमा पाँच र चारतारे होटलले क्यासिनो सञ्चालन गर्न पाउँछन्। पछिल्लो समय सञ्चालनमा आएका अधिकाशं चार र पाँचतारे होटलले क्यासिनो सञ्चालनका लागि छुट्टै ठाउँ बनाउन थालेका छन्। आकर्षक आम्दानीको स्रोत हुने भएकाले पनि सबै होटलको ध्यान क्यासिनोतर्फ आकर्षित भएको व्यवसायी बताउछन्।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएका गेमिङ फ्लोर, सुरक्षा प्रणाली र सेवा सुविधाले काठमाडौंको लक्जरी हस्पिटालिटी सेग्मेन्टलाई नयाँ स्तरमा पुर्याउने लेमन ट्री सञ्चालक बाबुकाजी कार्कीको दाबी छ।
क्यासिनो विस्तारले होटल अकुपेन्सी बढाउनुका साथै राजधानीको नाइट–इकोनोमीलाई समेत चलायमान बनाउने उनको भनाइ छ।
१५ देखि २० प्रतिशत अकुपेन्सी बढ्छ
क्यासिनो सञ्चालनमा आउँदा होटलको अकुपेन्सी १५ देखि २० प्रतिशतसम्म बढ्ने व्यवसायीको भनाइ छ। क्यासिनो सञ्चालकले महंगो शुल्कमा भाडासमेत बुझाउने गरेको छ। सोही कारण होटलका अतिरिक्त आम्दानीसमेत हुने गरेको छ। क्यासिनो खेल्न आउनेले नै होटलको कोठासमेत लिने हुँदा बुकिङमा समेत उत्साह थपिने गर्छ।
भारतीय र चिनियाँ पर्यटक बढी
नेपालमा क्यासिनो खेल्न आउनेमध्ये अधिकाशं भारतीय पर्यटक नै हुने गरेको छ। होटल व्यवसायीहरूका अनुसार खुल्ला सिमा रहेको र नजिकको गन्तव्य भएकोले पनि धेरै भारतीय नेपालमा क्यासिनो खेल्नकै लागी आउने गरेका छन्। यस्तै चीनियाँ पर्यटकहरू पनि क्यासिनोको गतिलो ग्राहक हुन्। खुला सिमाना नहुँदा पनि हवाईमार्गबाट धेरै चिनियाँ क्यासिनो खेल्न नेपाल आउने गरेको पर्यटन व्यवसायीको भनाइ छ।
यस्तो छ विभागले क्यासिनोलाई दिएको निर्देशन
पर्यटन विभागले क्यासिनो सञ्चालनलाई व्यवस्थित बनाउन विभिन्न निर्देशन जारी गरेको छ। मंसिर १ मा सार्वजनिक निर्देशनमा क्यासिनो सञ्चालनका क्रममा सम्पत्ति शुद्धीकरण निवारण ऐनसहित प्रचलित सबै कानुनी प्रावधानको पूर्ण पालना अनिवार्य गरिएको छ।
नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशी मुद्राको कारोबार गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ भने क्यासिनो नियमावली, २०८२ अनुसार सम्बन्धित विभागले माग गरेका वित्तीय विवरण नियमित रूपमा बुझाउनुपर्ने व्यवस्था छ।
यसका साथै क्यासिनोमा आउने सबै ग्राहकको पहिचान प्रणाली (केवाईसी) लागू गरी बायोमेट्रिक विवरण अद्यावधिक गर्नुपर्नेछ र विभागले माग गरे ती विवरण तुरुन्त उपलब्ध गराउनुपर्नेछ। क्यासिनो परिसरभित्र हुने सबै गतिविधि सिसिटिभी क्यामेराबाट रेकर्ड गरी कम्तीमा ६ महिना सुरक्षित राख्नुपर्नेछ।
इजाजत लिएको स्थानबाहेक अन्यत्र क्यासिनो सञ्चालन गर्न नपाइने र तेस्रो पक्ष वा अन्य कसैलाई सम्झौता गरी क्यासिनो सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै इन्टरनेटमा आधारित वा अनलाइन माध्यमबाट कुनै पनि प्रकारका खेल सञ्चालन गर्न नपाइने व्यवस्था छ।
खेलाडीले जितेको रकम भुक्तानी गर्नु अघि आकस्मिक लाभकर अग्रिम रूपमा कट्टी गर्नुपर्नेछ। कट्टी गरिएको लाभकरको प्रमाणपत्र तयार गरी त्यसको विवरण तत्काल आन्तरिक राजस्व कार्यालय र सम्बन्धित विभागमा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ। क्यासिनो तथा होटल परिसरभित्र र बाहिर पर्याप्त सुरक्षा व्यवस्था मिलाउनुपर्नेछ।
यदि ग्रे–लिष्टबाट बाहिरिन आवश्यक सुधारात्मक कार्य नगरेको पाइए वा जोखिम–आधारित अनुगमनका क्रममा कुनै त्रुटि भेटिए सम्बन्धित विभागले तत्काल कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ।