काठमाडौं। सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ जना विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार कोभिड–१९ पछि यो संख्या ९७ प्रतिशतले रिकभर भएको हो।
कोभिड–१९ अघि अर्थात सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक आएका थिए। गत वर्ष (२०२४) मा ११ लाख ४७ हजार २४ जना पर्यटक भित्रिएका थिए। पर्यटन बोर्डका अनुसार २०२५ को डिसेम्बरमा ९८ हजार १९० जना विदेशी पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले गत वर्षको तुलनामा केही प्रतिशतले संख्या बढे पनि उत्साहजनक रुपमा पर्यटक आगमन नभएको बताए। बोर्डको लक्ष्य १२ लाख पर्यटक पुर्याउने रहेकाे भए पनि पर्यटकीय सिजनकै मुखमा भएको जेनजी आन्दोलनको प्रभावले संख्यामा केही कमी भएको उनको भनाइ छ। पछिल्लो तथ्यांकअनुसार बंगलादेशबाट पर्यटकको संख्या बढी रहेको भए पनि चीनबाट पर्यटकको संख्या बढ्न नसक्दा संख्यात्मक रुपमा कमी आएकोले अबको ध्यान चिनियाँ पर्यटकलाई आकर्षणमा गराउनुपर्ने उनले बताए।
होटल एसोसिएशन अफ नेपाल (हान) का कोषाध्यक्ष युवराज श्रेष्ठले हवाई टिकटमा लगाएको १३ प्रतिशत भ्याट र लक्जरी करको प्रभाव पर्यटकको संख्यामा परेको उनले बताए। ‘२०२५ को जनवरीको संख्यालाई उत्साहजनक रुपमा लिइरहेको बेला एक्कासी जेनजी आन्दोलन हुँदा नकरात्मक असर पुगेको हो,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘नेपालसँगको सिधा उडान कम हुनु र नेपाल वायुसेवा निगमको जहाज कम हुनुको असर पनि संख्यामा परेको छ, अब यसलाई सुधार्नुपर्छ।’
नेपालमा निर्माण भएको दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवा पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा पनि धेरै पर्यटकको संख्या घटेकाले अब ती विमानस्थल सञ्चालनमा राज्यले मूख्य ध्यान दिनुपर्ने उनले बताए।
भारतबाट सबैभन्दा बढी
नेपाल घुम्न आउने पर्यटकमा सबैभन्दा बढी भारतीय रहेका छन्। बोर्डको तथ्यांकअनुसार २०२५ मा २ लाख ९२ हजार ४३८ जना भारतीय नेपाल आएका छन्। यो संख्या हवाईमार्गबाट आएको मात्र हो।
यस्तै, दोस्रोमा अमेरिकाबाट १ लाख १२ हजार ३१६, चीनबाट ९५ हजार ४८०, युकेबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७, श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३ र जर्मनीबाट ३० हजार २२७ जना पर्यटक नेपाल आएका छन्।
