काठमाडौं। सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरियाका अनुसार गत वर्ष कुल दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र आएका छन्।
उनका अनुसार सन् २०२४ मा कूल दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। साथै सन् २०२३ मा एक लाख ९१ हजार ६६६ जना र सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ जना पर्यटकले भ्रमण गरेका थिए।
अन्नपूर्ण क्षेत्र अन्नपूर्ण प्रथम हिमालदेखि कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।
विशेष गरी पदयात्रा पर्यटनको गन्तव्य अन्नपूर्ण क्षेत्र पछिल्लो समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनिरहेको ट्रेकिङ एजेन्सिज एशोसिएन(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद अचार्यले जानकारी दिए। सन् २०२५ मा विभिन्न चुनौतीका बाबजुद पर्यटकको आगमन भने उत्साहजनक नै भएको उनले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताका कारण पर्यटकहरू लोभिने गरेका छन्।
तथ्यांकअनसार गत वर्ष सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् भने त्यसपछि क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक छन्।