भोजपुर। लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन्। विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निरास भएका हुन्।
गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन रु २८ देखि ३० हजारसम्म मात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिए।
उनका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ। ‘गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ’, राउतले भने, ‘मूल्य घटेपछि हामी किसानमा समस्या थपिएको छ।’
मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको उनले बताए। हाल २० रोपनी क्षेत्रमा चिराइतोखेती गर्दै आएका राउतले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राखेका छन्। उनका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइ तोखेतीबाट वार्षिक औसत तीनदेखि चार लाखसम्म आम्दानी हुँदै आएको छ। तर, यस वर्ष मूल्य घटिरहे आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उनको भनाइ छ।
टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतो खेतीका लागि उपयुक्त मानिन्छन्। यी क्षेत्रबाट वार्षिक करिब एक हजार मनको हाराहारी चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन्।
यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ। स्थानीय जानकारका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ। ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटसम्बन्धी समस्यालगायत रोगमा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ। औषधीय गुण उच्च भएकाले यसको माग देश तथा विदेशमा रहने गरेको छ।
यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बंगलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायी बताउँछन्। यद्यपि अन्तरराष्ट्रिय बजारको मूल्य घटबढ, ढुवानी खर्च र उचित बजार व्यवस्थापन अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ।
किसानले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरे यसको व्यावसायिक खेती थप विस्तार गर्न सकिने बताएका छन्। स्थानीय तह र सम्बन्धित निकायको ध्यान नगदे बाली संरक्षण र प्रवर्द्धनतर्फ जानुपर्ने उनीहरूको माग छ।–रासस