काठमाडौं। हवाई इन्धनको मूल्य घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ समायोजन गरेको छ। समायोजित दर आजदेखि लागू भएसँगै आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भाडा घटेको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको प्रत्यक्ष प्रभाव हवाई भाडामा परेको हो। इन्धन मूल्य घटेसँगै क्यानले तोकेको फ्युल सर्चार्ज पनि घटाइएको हो, जसका कारण यात्रुहरूले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ।
समायोजनअनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीका लागि सबैभन्दा धेरै भाडा घटेको छ। यस रुटमा २ सय ६५ रुपैयाँ फ्युल सर्चार्ज घटाइएको छ। यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको धनगढीको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ।
पर्यटन उडानतर्फ माउन्टेन फ्लाइटमा २ सय १० रुपैयाँ फ्युल सर्चार्ज घटाइएको छ। यस्तै, काठमाडौं–भद्रपुर उडानमा १ सय ८० रुपैयाँ, काठमाडौं–विराटनगरमा १ सय ४० रुपैयाँ र काठमाडौं–जनकपुर उडानमा ७५ रुपैयाँ फ्युल सर्चार्ज घटेको छ।
काठमाडौं–पोखरा उडानमा ९५ रुपैयाँ, काठमाडौं–भरतपुरमा ६५ रुपैयाँ र काठमाडौं–भैरहवामा १ सय २५ रुपैयाँ फ्युल सर्चार्ज घटाइएको छ। यसैगरी काठमाडौं–नेपालगञ्जमा १ सय ९५ रुपैयाँ र काठमाडौं–सुर्खेत उडानमा २ सय १० रुपैयाँ घटाइएको छ।
क्षेत्रीय तथा क्रस–सेक्टर उडानतर्फ पनि उल्लेख्य रुपमा फ्युल सर्चार्ज घटाइएको छ। जनकपुर–नेपालगञ्ज रुटमा २ सय ७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा ३ सय ३० रुपैयाँ भाडा कम लाग्ने गरी नयाँ दर तोकिएको छ। काठमाडौं–तुम्लिङटार उडानमा १ सय १० रुपैयाँ, काठमाडौं–राजविराजमा १ सय २५ रुपैयाँ र काठमाडौं–सिमरा उडानमा ५५ रुपैयाँ फ्युल सर्चार्ज घटेको छ।