कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना ९पश्चिम खण्ड०को तेस्रो पटक म्याद थप गरिएको छ। पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने यस राजमार्ग एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ।
योजनाको यसअघि दुई पटक म्याद थप गर्दासमेत काम तोकिएको समय सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले २०८३ असार १५ सम्म समय थप गरिएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। उनले भने, ‘दोस्रो पटकसमेत तोकिएको समयमा काम नसकिएको र ७५ प्रतिशत मात्र भौतिक प्रगति भएपछि हालै पुनःनिर्माण अवधि बढाइएको छ। अब थपिएको समय चालू आर्थिक वर्षमा चार तथा ६ लेन सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’
योजनाका अनुसार पछिल्लो पटक थप गरिएको म्याद गत डिसेम्बर अन्त्यमा सकिएपछि ६ महिना बढाइएको हो। सडक मापदण्डभित्रको विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण तथा रुख कटानमा ढिलाइलगायतका कारणले योजना सम्पन्न हुन ढिलाइ भएको बताइन्छ। आयोजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदीपुलसम्मको ३८ दशमलव ८८ किमि पर्छ। योजना प्रमुख कुँवरले हालसम्म यस खण्डको तीन चौथाइ काम सम्पन्न भएको जानकारी दिए।
प्रथम तहको कालोपत्रे ३७ किमि सकिएको छ। त्यसैगरी दोस्रो तहको कालोपत्रे गर्ने काम करिव ३४ किमि पूरा भएको छ। एकतर्फी कालोपत्र गर्न अब एक किमि बाटो मात्र बाँकी रहेको कुँवरले बताए। त्यसैगरी जामुनेबाट ‘सडक मार्किङ’, ‘थर्मोप्लास्टिक पेन्ट’ र ‘रोड सेफ्टी ब्यारिएर’ राख्ने लगातका काम समेत सुरु भएको छ।
आयोजनाको चालू आवमा थप ११ किमि चार लेनमा प्रथम तहको र ३० किमि चार लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्रे गरिएको छ। यस खण्डमा एक वटा पुल र दुई वटा कल्र्भट निर्माणसमेत यसै अवधिमा सम्पन्न भएको छ। मुग्लिन–पोखरा पश्चिम खण्डको २०७८ जेठ २ गते निर्माण सम्झौता भएर २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माण गर्न चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनसँग ७ अर्ब ४० करोडमा ठेक्का सम्झौता गरिएको थियो।
२०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यस अवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो। त्यसपछि दोस्रो पटक २०८१ पुसमा एक वर्ष म्याद बढाइएको थियो।-रासस