काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोली कोसी, मधेस र गण्डकीका १० उत्कृष्ट विद्युत् ग्राहक सम्मान र बिजुली अवस्थाबारे जानकारी लिएपछि कर्णाली प्रदेश भ्रमणमा निस्किएको छ। कर्णाली प्रदेश मुकाम सुर्खेत पुगेका शाक्यले मुलुकको जनश्रम बंगाल र अरबको खाडीमा बेचेर देश कहिल्यै धनी नहुने बताए।
प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान’ गर्दै शाक्यले कर्णालीमा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी दिए। ‘विद्युतीकरण गाउँगाउँमा पुर्याउनुपर्छ,’ उनले भने, ‘विद्युत नपाएका ग्राहकले पाउनुपर्छ र उनीहरुले बिजुली पाएपछि उद्योगधन्दामा लाग्नुपर्छ।’
उनले यहीको माटोमा श्रम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि विजुली सबैभन्दा महत्वपूर्ण र सस्तो कच्चा पदार्थ रहेको बताए। ‘नेपालजस्तो देशमा मात्रै होइन, युरोप अमेरिकामा पनि ऊर्जा अर्थतन्त्रको सबैभन्दा ठूलो ड्राइभर हो। त्यसैले हामीले ऊर्जामा जोड दिनुपर्छ।’
उत्कृष्ट ग्रहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याको जानकारी तथा पहिचान गर्ने अभियान कोसीबाट सुरुआत गर्दै अहिले कर्णालीसम्म आइपुगेको शाक्यको भनाइ छ।
‘गत जेठमा कोसीबाट सुरु गरेको यो अभियान मधेस, गण्डकी हुँदै कर्णालीमा सम्पन्न भएको छ,’ उनले भने, ‘उद्योगी व्यवसायीसँग विद्युत् प्राधिकरण नकारात्मक भयो कि भन्ने आशंका चिर्न र इमानदार ग्राहकलाई अन्याय गर्नुहुँदैन, सम्मान गर्नुपर्छ भनेर यो अभियानको सुरुवात गरिएको हो।’ उनले अभियानले प्राधिकरणलाई ग्राहकमुखी भएर सोच्न बाध्य बनाएको र त्यसले थप अघि बढ्न प्रेरणा मिलेको उल्लेख गरे।
शाक्यले प्राधिकरणको मुख्य स्रोत नै उपभाेक्ता भएको भन्दै विद्युत उपयोग गर्नेले उत्पादनमुखी काम गरेर अर्थतन्त्रमा टेवा दिएको उल्लेख गरे। ‘एक रुपैयाँको बिजुली प्रयोग गरेर उपभोक्ताले त्यसको चार–पाँच गुणा बढी उत्पादन गरेका हुन्छन् र त्यहीअनुसारको योगदान मुलुकको अर्थतन्त्रमा दिइरहेका हुन्छन्,’ उनले भने, ‘रोजगारी सिर्जना त्यहीबाट हुन्छ र त्यसले हामी सबैको जीवनस्तरमा सुधार गरेको हुन्छ।’
त्यसले प्राधिकरण मात्रै नभई राज्यको अर्थतन्त्रमा पनि ठूलो योगदान भइरहेको उल्लेख गर्नुभयो । शाक्यसँगै उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले प्राधिकरणका तर्फबाट कर्णाली प्रदेशमा गर्नुपर्ने काम धेरै रहेकाले अझै भरपर्दो बिजुली दिन नसकिरहेको उल्लेख गरे।
प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभुषण साहले कार्यकारी प्रमुख नै कर्णाली आएर कालोसूचीमा नपरेका र सबै भन्दा बढी विद्युत खपत गर्ने १० उत्कृष्ट ग्राहकलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताए। उनले कार्यकारी निर्देशकको निर्देशन अनुसार अब करिब १ लाख ८० हजार ग्राहक रहेको कर्णाली प्रदेशका १० वटै विद्युत केन्द्रबाट पनि उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कामको थालनी गर्ने जानकारी दिए।
सम्मानित हुने उत्कृष्ट १० उद्योगी तथा व्यवसायीको तर्फबाट बोल्दै केशव बुढाथोकीले आफूहरुले लामो समयदेखि भोल्टेज कम र अघोषित लोडसेडिङको समस्या भोग्न बाध्य भएको भन्दै नियमित विद्युत आपूर्ति व्यवस्थाका लागि भरपर्दो पहल गरिदिन आग्रह गरे।
१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन
कार्यकारी निर्देशक शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औधोगिकीकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने पनि दाबी गरे।
कर्णालीको निरीक्षण भ्रमणकै क्रममा उनले कोहलपुर, सुर्खेत, दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै यस्तो बताएका हुन्। कर्णालीमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो।
‘कर्णाली कति पछाडि परेको छ भन्ने कुराको बोलीले भन्दा पनि प्रमाणले भन्ने हो भने हेर्नस्, १३२ केभी प्रसार लाइन अहिलेसम्म आएको छैन,’ उनले भने, ‘योभन्दा ठूलो प्रमाण के हुन्छ ? पूरै कर्णालीमा १३२ केभी प्रसारण लाइन अब बढीमा १५ दिनभित्र सञ्चालनमा आउँछ।’
उनले आफू २०६६ देखि निरन्तर कर्णालीमा आइरहको दाबी गरे। शाक्यले सुर्खेतको निार्माणाधीन स्वचालित सबस्टेसन प्रमुख राजमार्ग छेउको टावर नजिकै रहेको र प्राधिकरणले अधिकरण गरेको जग्गामा उक्त राजमार्गमा प्रयोग गर्ने विद्युतीय सवारीलाई सहज हुने गरी चार्जिङ स्टेसन प्रयोगका लागि आवश्यक तयारी गर्न निर्देशन दिए।
आयोजना प्रमुख रविकुमार चौधरीले पनि कोलपुर–सुर्खेत खण्डको काम अन्तिम चरणमा रहेको भन्दै शाक्यको निर्देशनअनुसार अबको १५ दिनभित्र यो लाइन चार्ज गर्न सफल हुने प्रतिबद्धता व्यक्त गरे।‘ अर्को दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम पनि तीव्र गतिमा अघि बढेको छ,’ चौधरीले भने, ‘अर्को वर्ष भित्र दैलेखसम्म पुर्याउनेछौं। त्यहीअनुसार कामलाई गति दिन्छौं।’
चौधरीका अनुसार करिब ७५ करोडमा निर्माण भएको सबस्टेसन तयारी अवस्था छ भने करिब ६५ करोडमा निर्माण भएको प्रसारण लाइनका दुई स्पान तार तानेर परीक्षण गर्न बाँकी छ। शाक्यले कर्णाली प्रदेशका १० वटै विद्युत केन्द्रका प्रमुखसँग प्रगति विवरण, त्यहाँका समस्या र समाधानका उपायसँग केन्द्रित भएर छलफल गरे।
सम्मानित हुने १० उद्योग र व्यवसायी

गुनाङडोङ युनटाइन रमा जेभी क्रसर, सुर्खेत। खलंगा शितलपार्टी खानेपानी उपभोक्ता, सल्यान। शुभघाट सहरी खानेपानी, सुर्खेत। विजयी चौरजहारी सुक्खा खानेपानी तथा सरसफाइ रुकुमपश्चिम। खलंगा शितलपाटी खानेपानी र उपभोक्ता सल्यान। वीरेन्द्रनगर औद्योगिक क्षेत्र सुर्खेत। शंखमूल ग्रामीण विद्युत् लुहाम बजार, सल्यान। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला। सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत र शुभघाट सरकारी खानेपानी सुर्खेत रहेका छन्।