काठमाडौं। भन्सार विभागको आयोजनामा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा दुई दिने भन्सार व्यवस्थापन गोष्ठी सुरु भएको छ।
गोष्ठीमा अन्तर्राष्ट्रिय व्यापारको लागत घटाउन तथा व्यापार सहजीकरण गर्न अनलाइन भ्यालुएसन डाटाबेश प्रणालीलाई बाँकी रहेका १८ वटा भन्सार कार्यालयमा समेत भर्चुअल माध्यमबाट शुभारम्भ गरी लागू गरिएको छ।
अनलाइन भ्यालुएसन डाटाबेश र सुधार गोष्ठीको समुद्घाटन गर्दै अर्थमन्त्री खनालले लामो समयपछि भन्सारमा जीएटीटी भ्यालुएसन प्रणाली पूर्ण रूपमा लागू भएको जानकारी दिए।
वस्तुको मूल्य बजारले निर्धारण गर्ने हुँदा प्रक्रियागत सरलीकरणमा जोड दिँदै उनले आगामी दिनमा भन्सारलाई उत्पादन र निर्यातमा आधारित अर्थतन्त्र निर्माणको मेरुदण्डका रूपमा विकास गरिनुपर्ने विषयमा जोड दिएका थिए।
साथै, निजी क्षेत्रले नक्कली बिल बिजक जारी गर्नुपर्ने बाध्यताको अन्त गर्दै व्यवसायीहरु यो परिवर्तन अनुरुप वास्तविक कारोबार र सही कागजात मात्र पेश गरी इमान्दार हुनुपर्ने उनको भनाइ थियो।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षहरूले नयाँ प्रणालीको स्वागत गर्दै भन्सार ऐन, २०८२ का कतिपय दण्ड र जरिवानाका प्रावधानमा पुनरावलोकन गर्न, चोरी पैठारी नियन्त्रण गर्न र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउन माग गरेका थिए।
कार्यक्रममा राजस्व सचिव भूपाल बराल, राजस्व व्यवस्थापन महाशाखा प्रमुख, अन्तरिक राजस्व विभाग तथा राजस्व अनुसन्धान विभागका प्रमुखले राजस्व चुहावट नियन्त्रण, सदाचारिता र व्यावसायिकतामा जोड दिएका थिए।