काठमाडौं। युक्रेनले शनिबार आफ्ना प्रमुख सुरक्षा साझेदार देशका सुरक्षा सल्लाहकारसँग महत्वपूर्ण वार्ता आयोजना गरेको छ।
युक्रेनी पक्षले शान्ति सम्झौताको प्रक्रिया अन्तिम चरणतर्फ अघि बढिरहेको दाबी गरिरहँदा रुसले भने नयाँ वर्षको दिन भएको घातक आक्रमणले वार्ताको प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार करिब १५ देशका प्रतिनिधि, युरोपेली सङ्घ र नाटोका अधिकारीहरू वार्तामा सहभागी छन् भने अमेरिकी प्रतिनिधिमण्डल भिडियोमार्फत जोडिएको छ।
शनिबारको छलफलपछि ‘कोएलिसन अफ द विलिङ’ का नेताहरू आगामी साता फ्रान्समा पुनः भेला हुने अपेक्षा गरिएको छ।
नयाँ वर्षको पूर्वसन्ध्यामा जेलेन्स्कीले अमेरिकाको पहलमा अघि बढाइएको शान्ति योजना करिब ९० प्रतिशत तयार भइसकेको बताए पनि केही महत्वपूर्ण क्षेत्रीय विषयमा सहमति हुन बाँकी रहेको उल्लेख गरेका थिए।
रुसले युक्रेनको करिब पाँचौँ भाग भूभाग कब्जा गरिसकेको छ र उसले दैनिकजसो क्षेप्यास्त्र तथा ड्रोन आक्रमण जारी राख्दा हजारौँ सर्वसाधारणको ज्यान गएको र लाखौँ विस्थापित भएका छन्।
किएभले रुस शान्तिप्रति इच्छुक नरहेको र थप भूभाग कब्जा गर्ने उद्देश्यले कूटनीतिक प्रयास विफल पार्न खोजिरहेको आरोप लगाउँदै आएको छ।
यसैबीच, रुसले खेरसोनमा रहेको एक होटलमा भएको आक्रमणलाई ‘आतङ्कवादी हमला’ भन्दै शान्ति प्रयास तोडफोड गरिएको आरोप लगाएको छ। उक्त आक्रमणमा नयाँ वर्ष मनाइरहेका २८ जनाको मृत्यु भएको बताइएको छ।
युक्रेनले भने त्यो स्थान सैनिक जमघट भएको दाबी गरेको छ। दुवै दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
अमेरिकाको समर्थनमा तयार पारिएको शान्ति प्रस्तावअनुसार युक्रेनले डोनबास क्षेत्रका केही भाग त्याग्ने र नाटोमा नजाने सहमति गर्नुपर्ने उल्लेख छ। तर, जेलेन्स्कीले रुसले कब्जा गरेको भूभागलाई औपचारिक रूपमा रुसकै मान्यता दिने प्रावधान हटाउन युक्रेन सफल भएको बताए।
यसै क्रममा, राष्ट्रपति जेलेन्स्कीले फ्रान्समा हुने जनवरी ६ को शिखर सम्मेलनअघि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
साथै, युक्रेनी सैन्य गुप्तचर प्रमुख काइरिलो बुदानोभलाई राष्ट्रपतीय कार्यालय प्रमुखमा नियुक्त गरिएको छ े। उनले आन्द्रिय यर्माकको स्थान लिएका हुन्। जसले भ्रष्टाचार अनुसन्धानपछि पदबाट राजीनामा दिएका थिए।
राष्ट्रपति जेलेन्स्कीले वर्तमान अवस्थामा युक्रेनलाई सुरक्षा, रक्षा संरचना सुदृढीकरण र कूटनीतिक वार्तामा विशेष ध्यान आवश्यक रहेको उल्लेख गर्दै बुदानोभसँग ती क्षेत्रमा आवश्यक अनुभव र क्षमता रहेको बताए।
नवनियुक्त प्रमुख बुदानोभले जिम्मेवारी स्वीकार गर्दै युक्रेनको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।