काठमाडौं। भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रन-वे घटाएर विमान स्थलबाट उडान सुरु भएको छ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार रनवे घटाएर विमान स्थललाई सञ्चालनमा ल्याइएको हो।
दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकाले हाल एक हजार ५ सय मिटरको रनवे घटाएर एक हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ।
रनवे घटाएसँगै विमान सञ्चालन गरिएकाले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उनले जानकारी गराए।
हाल प्रयोगमा रहेको एक हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उनको भनाइ छ। उनले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताए।
शुक्रबार राति ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो। मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको जनाइएको छ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो। उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए।
दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन्। अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्। दुर्घटनाग्रस्त विमानलाई रन–वेबाट हटाउने कार्य भइरहेको छ।