काठमाडौं। बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दियएको छ। कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके अहिले विस्तारै निजी खेतबारी र सार्वजनिक स्थानमा हरियाली फैलाउने दिशातर्फ उन्मुख हुँदै गएको छ।
डिभिजन वन कार्यालयका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार जिल्लामा हजारौँ बिरुवा उत्पादन गरी वितरण गरिएको छ। यसले यहाँको जमिनलाई हरियाली बनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले जिल्लाभरि नै ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरेको थियो। कार्यालयका अनुसार सो अवधिमा पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरिएको थियो। ती बिरुवा किसानका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिकस्थल तथा सार्वजनिक स्थानमा रोपिएका वरिष्ठ वन अधिकृत सुवेदी बताउँछन्।
“बिरुवा वितरणको उद्देश्य केवल हरियाली बढाउनुमात्र होइन, स्थानीयस्तरमै काठ र दाउराको आवश्यकता पूर्ति गर्नु पनि हो र यसका साथै किसानको आयआर्जन बढाउनु पनि हो”, उनले भने।
बाँकेका केही स्थानीय तहमा वनक्षेत्र अत्यन्त न्यून छ भने केहीमा त वन नै छैन। यही अवस्थाले पछिल्ला वर्षमा किसानलाई आफ्नै खेतबारीमा रुख रोप्न प्रेरित गरेको अधिकृत सुवेदीको भनाइ छ। “खेतको कान्ला, खाली जमिन र घरआँगनमा लगाइएका रुख अहिले किसानको दैनिकीको महत्त्वपूर्ण हिस्सा बन्दै गएका छन्”, उनले भने।
किसान निजी खेतमा रुख रोप्न आकर्षित हुनुका पछाडि वातावरणीय चिन्तामात्र होइन, आर्थिक पक्ष पनि हो। छिटो बढ्ने र बजारमा माग हुने प्रजातिका बिरुवाबाट छोटो समयमा नै प्रतिफल पाइने भएकाले किसानको रुचि बढेको छ। किसान छिटो आम्दानी दिने प्रजातितर्फ आकर्षित देखिएका छन्, यसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुगेको छ। विशेषगरी सागवान र युकालिप्टसजस्ता प्रजाति छिटो बढ्ने र सजिलै बिक्री हुने भएकाले यी बिरुवा नै किसानको पहिलो रोजाइमा परेका छन्। एक वर्षीय प्रजातितर्फ सागवान, युकालिप्टस र खयरको माग बढी रहेको र बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफूल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनजस्ता बिरुवा लोकप्रिय बन्दै गएका छन्।