काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा ‘अपरेसन एब्सोल्युट रिजोल्भ’मार्फत राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएको दाबी गरेसँगै विश्वभरबाट विभिन्न प्रतिक्रिया आएका छन्। अमेरिकाको आकस्मिक सैन्य कारबाहीलाई लिएर रुस र चीनले आपत्ति जनाएका छन्।
रुसी विदेश मन्त्रालयले यसलाई कुनै पनि सार्वभौम देशको अखण्डता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको बताएको छ भने चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको यस ‘हेजेमोनिक’ (आधिपत्यवादी) व्यवहारले ल्याटिन अमेरिकाको शान्ति र सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै विरोध जनाएको छ।
यस्तै, भेनेजुएलाको छिमेकी देश कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सीमा क्षेत्रमा सेना तैनाथ गर्न आदेश दिएका छन्। सम्भावित शरणार्थी संकट र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै कोलम्बियाले उच्च सतर्कता अपनाएको हो।
उता, अर्जेन्टिनाले भने अमेरिकी कारबाहीको स्वागत गरेको छ। बेलायती प्रधानमन्त्रीले यस आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। यस्तै, युरोपेली संघ र स्पेनले दुवै पक्षलाई संयमता अपनाउन र समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।
यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाले विश्व राजनीतिमा 'खतरनाक उदाहरण' स्थापित गरेको भन्दै चिन्ता व्यक्त गरे। भेनेजुएलाको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठक भोलि (सोमबार) बिहान १० बजेका लागि बोलाइएको छ।
अमेरिकाले भने मादुरो र उनकी पत्नी विरुद्ध न्युयोर्कको अदालतमा ‘नार्को-टेररिज्म’ र अवैध हतियार ओसारपसारको अभियोगमा कानुनी कारबाही अघि बढाइने जानकारी दिएको छ।