जेनेभा। अन्तर्राष्ट्रिय वायु यातायात संघले सोमबार सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार आगामी वर्ष २०२६ मा विश्वभरका विमान कम्पनीहरूको कुल आम्दानी एक खर्ब पचास तीन अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। यो सन् २०२५ को १ खर्ब ८ अर्ब डलरको तुलनामा साढे चार प्रतिशतले बढी हो।
संघका महानिर्देशक विली वाल्शले विमानस्थल व्यवसायको दृढतालाई सराहना गर्दै भने, "हवाई कम्पनीहरूले आगामी वर्ष साढे तीन प्रतिशतको खुद मुनाफा कायम गर्दै ४१ अर्ब डलर नाफा कमाउने अनुमान छ। हवाई जहाज निर्माण क्षेत्रमा देखिएको आपूर्ति समस्या, विश्वव्यापी राजनीतिक तनाव, सुस्त अन्तर्राष्ट्रिय व्यापार र बढ्दो नियामक भार जस्ता अवरोधहरूलाई मध्यनजर गर्दा यो अत्यन्त उत्साहजनक खबर हो। विमान कम्पनीहरूले आफ्नो व्यवसायमा झट्का सहन सक्ने क्षमता विकास गर्न सफल भएका छन्, जसले स्थिर नाफा सुनिश्चित गरिरहेको छ।"
संघको प्रतिवेदनअनुसार आगामी वर्ष हवाई यात्रा गर्ने यात्रुको संख्या ५ अर्ब २० करोड पुग्ने अनुमान गरिएको छ, जुन यस वर्षको तुलनामा साढे ४ प्रतिशतले बढी हो। विमान कम्पनीहरूले हरेक उडानमा उपलब्ध कुल सिटहरूमध्ये लगभग ८४ प्रतिशत भरिने छन्।
यात्रु ओसारपसारमा बलियो उपस्थिति देखिए पनि मालसामान ढुवानी क्षेत्रमा भने केही मन्दी आउने संकेत छ। मालसामान ढुवानीबाट हुने आम्दानी १ सय ५८ अर्ब डलर पुग्ने अनुमान गरिएको छ, जुन २०२५ काे १ सय ५५ अर्ब डलरभन्दा दुई दशमलव एक प्रतिशतले मात्र बढी हो। मालसामानको ढुवानीमा ७१ दशमलव ६ लाख टन पुग्ने अपेक्षा गरिएको छ। तथापि, विद्युतीय व्यापार र तत्काल ढुवानी सेवाहरूले यस क्षेत्रलाई निरन्तर सहयोग पुर्याइरहने संघले जनाएको छ।
खर्च संरचनामा उल्लेखनीय परिवर्तन देखिएको छ। कर्मचारी तलबभत्ता अब कुल परिचालन खर्चको २८ प्रतिशत ओगटेर सबैभन्दा ठूलो लागत छ। जसले इन्धन खर्चलाई पछि पारेको छ। द्रुत गतिमा कर्मचारी संख्या बढाइएको तर उत्पादनमा त्यसअनुरूप वृद्धि हुन नसकेको र परिचालन तथा तालिम सम्बन्धी समस्याहरू निरन्तर रहेकाले कर्मचारी उत्पादकत्व सन् २०१९ को स्तरमा पुग्न सकेको छैन।
अर्कोतर्फ इन्धन खर्चमा भने केही राहत मिल्ने देखिएको छ। आगामी वर्ष इन्धनमा हुने खर्च २ सय ५२ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ, जुन सन् २०२५ को २ सय ५३ अर्ब डलरभन्दा शून्य दशमलव ३ प्रतिशतले कम हो। कच्चा तेलको मूल्य प्रति ब्यारेल ६२ डलरमा झर्ने अपेक्षा गरिएको छ।
पुराना विमानहरूको सञ्चालन र आपूर्ति शृंखलामा देखिएको अवरोधका कारण मर्मत सम्भारमा हुने खर्च बढिरहेको छ। पार्टपुर्जा उपलब्धतामा समस्या भइरहेको छ। विमान भाडामा लिंदा तिर्नुपर्ने दर रेकर्ड उच्च पुगेको छ, जसले स्वामित्व लागत बढाएको छ। विमानस्थल र उडान मार्ग शुल्क पनि लगातार वृद्धि भइरहेका छन्।
कमजोर अमेरिकी डलरले गैर-अमेरिकी मुद्रामा कारोबार गर्ने विमान कम्पनीहरूलाई फाइदा पुग्ने अनुमान छ। संघको अध्ययनअनुसार विश्वव्यापी विमानस्थल परिचालन खर्चको ५५ देखि ६० प्रतिशत अमेरिकी डलरमा छ, जबकि आम्दानी पक्षमा ५० देखि ५५ प्रतिशत मात्र छ। यस आधारमा अमेरिकी डलर एक प्रतिशतले कमजोर भएमा विश्वव्यापी विमान कम्पनीकाे नाफा एक प्रतिशतले बढ्न सक्छ।
आगामी वर्ष विमान कम्पनीहरूको सञ्चालन नाफा ७२ दशमलव ८ अर्ब डलर पुग्ने अनुमान छ, जुन चालु वर्षको ६७ अर्ब डलरभन्दा बढी हो। यसले सञ्चालन मुनाफा प्रतिशत साढे ६ बिन्दुमा पुर्याउनेछ। तर संघले विमानको माग र उत्पादन बीचको दूरी बढिरहेको बताएकाे छ। आपूर्ति शृंखलामा देखिएको बाधाका कारण विमान अर्डरको बक्यौता निरन्तर बढिरहनेछ, जसले विमान कम्पनीहरूको विस्तार र वित्तीय प्रदर्शनमा असर पार्नेछ। नयाँ विमान सुपुर्दगीमा सन् २०२६ मा केही सुधार हुने अनुमान भए पनि आगामी वर्षहरूसम्म यो समस्या कायम रहनेछ।
वाल्शले थपे, "समग्र नाफा बढिरहे पनि मुनाफाको दर अझै कम छ, संरचनात्मक लागत बढिरहेको छ र विश्वव्यापी आपूर्ति समस्याहरूले आगामी धेरै वर्षसम्म विमान कम्पनीहरूलाई असर गरिरहनेछ। उद्योगको समग्र मुनाफा दर अझै पनि अत्यन्त कम छ। तिनीहरू विश्व अर्थतन्त्रको करिब ४ प्रतिशत र ७ करोड ८७ लाख रोजगारीको केन्द्रमा छन्। तर औसत प्रति यात्रु साढे ७ डलर मात्र कमाउँछन्।"
दिगो उड्डयन इन्धनको बढ्दो लागत आगामी वर्ष साढे ४ अर्ब डलर पुग्ने अनुमान छ, जसमा २ दशमलव ४ लाख टन यस्तो इन्धन उपलब्ध हुने प्रक्षेपण गरिएको छ। समग्रमा हेर्दा, कुनै अप्रत्याशित घटना नभएमा आगामी वर्ष २०२६ मा विमान कम्पनीहरूले स्थिर उडान कायम राख्न सफल हुने देखिन्छ।