काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताएका छन्।
यो घोषणा अमेरिकी सैन्य कारबाहीपछि आएको हो। जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क सहर लगिएको थियो।
अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको थियो। मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर उनीहरूमाथि लागू औषध तस्करी र हतियारसम्बन्धी मुद्दा चलाइएको छ।
ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘विश्वकै ठूलो अमेरिकी तेल कम्पनीहरूले अरबौं डलर लगानी गरी तेल पूर्वाधार सुधार गर्ने छन् र यसबाट देशका लागि आम्दानी सिर्जना हुनेछ।’
अमेरिकाले भेनेजुएलामा सन् २०१७ मा आर्थिक प्रतिबन्ध र २०१९ मा तेलमाथि प्रतिबन्ध लगाएको थियो। भेनेजुएला दैनिक १० लाख भन्दा कम ब्यारेल तेल उत्पादन गर्छ र यसको अधिकांश कालो बजारमा छुटमा बिक्री हुन्छ। ट्रम्पको भनाइ अनुसार, भेनेजुएलाले तेल आम्दानी ‘ड्रग आतङ्कवाद, मानव तस्करी, हत्या र अपहरण’मा खर्च गर्दै छ।
उनको दोस्रो कार्यकालको सुरुवातमा २०२५ मा बहुराष्ट्रिय तेल कम्पनीहरूले भेनेजुएलामा सञ्चालन गर्ने अनुमति दिने लाइसेन्स समाप्त गरिएको थियो। यस क्रममा अमेरिकी कम्पनी चेभ्रोनलाई मात्र विशेष अनुमति दिइएको थियो।
चेभ्रोन भेनेजुएलामा राज्य स्वामित्वको पीडीभीएसएसँग साझेदारीमा चार तेल क्षेत्र सञ्चालन गर्दै आएको छ।
संयुक्त राज्यले प्रतिबन्धित ट्या्रकरहरूको भेनेजुएलासँगको व्यापारमा पनि पूर्ण रोक लगाएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएईए)का अनुसार भेनेजुएलामा विश्वका तेल भण्डारको करिब १७ प्रतिशत रहेको छ। तथापि, वर्षौंदेखि व्यवस्थापन र भ्रष्टाचारका कारण देश प्रमुख तेल उत्पादक बन्न सकेको छैन।
विश्लेषकका अनुसार भेनेजुएलाको तेल गुणस्तर कम रहेको र अधिकांश डीजल वा अन्य उपउत्पादनमा प्रयोग हुने भएकाले अमेरिकामा गल्फ अफ मेक्सिको आसपासका रिफाइनरी यस तेललाई प्रशोधन गर्न विशेष डिजाइन गरिएका छन्।