काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)का कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस भन्नका लागि ‘क्लोजली मोनिटरिङ’ को व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।
उनले समग्र अर्थतन्त्रका साथै बैंक तथा वित्तीय क्षेत्रमा परेको असर लगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी दिने सुविधा तयार गर्न खोजिएको गभर्नर अधिकारीले जानकारी दिए ।कोभिड–१९ को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतिपूर्ण रहने गभर्नर अधिकारीले बताएका छन ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सहभागी भएका गभर्नर अधिकारीले विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौति थपिएको बताए ।
उनले विप्रेषणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने जानकारी दिए । ‘अर्को आर्थिक वर्षमा हामीलाई विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्दैछ । पर्यटन आयमा धेरै हामीले आशा गर्न सक्दैनौं, उनले भने ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पुरा नहुने स्थिति आइसकेको गभर्नर अधिकारीले बताए । उनले कोभिड सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको जानकारी दिए ।
यस्तै अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दवाव पर्ने उनले बताए । उनले वित्तीय क्षेत्रको स्थायित्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरुलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने र रोजगारी प्रवद्र्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा तयारी थालिएको समेत उनले बताए ।