काठमाडौं। नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट ठूलो परिमाणमा नक्कली नोटसहित गिरोहलाई नियन्त्रणमा लिएको छ। पुस १६ गते एक हजार दरका नक्कली नोट ९३ थानसहित ६ जनालाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा यस कार्यमा संलग्नता देखिएका जिल्ला बारा कलैया उपमहानगरपालिका–२ कबलपुर बस्ने २८ वर्षीय गौरी शंकर यादवलाई थप नियन्त्रणमा लिइएको छ। प्रहरी सोधपुछका क्रममा यादवले जिल्ला बारा, फेटा गाउँपालिका–३ घर भई भारतको मोतिहारी लाला टोल, पतौना क्षेत्रमा डेरा गरी बस्ने २८ वर्षीय रवि कुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको र पुस २० गते नक्कली नोट नेपालमै छाप्न आवश्यक सामग्री भारतबाट नेपाल ल्याउने योजना रहेको बयान दिएका छन्।
उक्त सूचनाका आधारमा भारतीय नम्बर प्लेट बीआई०५ एएफ २५११ भएको बुलेट मोटरसाइकलको पछाडिको सिटमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर तथा प्रिन्टिङ उपकरण भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल, भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नक्कली नोट, मोनिटर, कम्प्युटर, प्रिन्टर, मोबाइल, टोनर, नक्कली पेस्तोल तथा लालीगुराँसको वाटरमार्क छापिएको ‘१०००’ लेखिएको कागजसहित ठूलो परिमाणमा नक्कली नोट छाप्न प्रयोग हुने सामग्री बरामद गरेको छ।
नक्कली नोटको कारोबारले देशको आर्थिक प्रणालीमा गम्भीर असर पार्ने, बजारमा नगद कारोबारप्रतिको विश्वास कमजोर बनाउने, सर्वसाधारण र व्यापारी ठगिने जोखिम बढाउने तथा संगठित र सीमापार अपराधलाई प्रश्रय दिने खतरा रहने प्रहरीको भनाइ छ। प्रहरीले यस्ता गतिविधिमा संलग्न गिरोहविरुद्ध कडा कारबाही गरिने स्पष्ट पार्दै शंकास्पद नोट फेला परे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।