काठमाडौं। नेपाल आयल निगमले बजारको माग धान्न धौधौ परेपछि शुक्रबारदेखि आधा सिलिण्डर मात्र ग्यास विक्रि सुरु गरेको छ। अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्वमा उत्पन्न तनावले कच्चा तेलको मूल्य बढेको र अभाव सृजना हुने देखिएपछि त्यसको असर नेपालमा पनि परेको हो।
खासगरी भारतीय बजारमा ग्यासको अभाव भएसँगै नेपाली बजारमा पनि अभाव हुने भयको कारण उपभोक्ताहरुले स्टकमा ग्यास उठाउन थालेपछि अहिले कृतिम अभाव सृजना भएको हो। बजारको अभावलाई पुर्ति गराउन भन्दै निगमले शुक्रबारदेखि उद्योगी व्यवसायीहरुलाई आधा सिलिण्डर मात्र बेच्न निर्देशन दिएको हो। आधा सिलिण्डर मात्र ग्यास पाउने भएपनि अहिले बजारमा उपभोक्ताहरु खरिद गर्नेहरुको लाइन बढिरहेको छ।
इन्डक्सन प्रयोग गरे हट्न सक्छ अभाव
भारतका होटल तथा रेष्टुरेन्टहरुमा ग्यास अभाव भएको समचारहरु सार्वजनिक भैरहेको छ। पहिला घरायसी र दोस्रोमा मात्र व्यवसायीक भन्ने नीति भारतमा लागू हुँदा अहिले होटल तथा रेष्टुरेन्टमा अभाव देखिएको जनाएको छ। हालसम्म नेपालमा होटल तथा रेष्टुरेन्टहरुमा ग्यास अभाव नदेखिएपनि त्रास भने सिर्जना भएको होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहको भनाइ छ।
‘होटल तथा रेष्टुरेन्टमा ग्यास अभाव हुने देखिएमा ठुलो समस्या उत्पन्न हुन सक्छ,’ अध्यक्ष शाहले भने, ‘पर्यटकीय सिजन सुरु भएकै बेला अभाव भए ठूलो घाटा हुन सक्छ, यसमा निगमपनि सचेत हुन आवश्यक छ।’ सरकारले बेलैमा निर्णय गरेर इन्डक्सन प्रयोगमा प्रोत्साहन गरेको भए अहिले बजारमा जति अभाव देखिएको थियो त्यो कम हुने आकंलन उनको छ।
खासगरी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा होटललाई उत्पादनमुलुक उद्योग सरहको मान्यता दिने र सुविधा दिने उल्लेख गरिएको थियो। हाल उत्पादनमुलुक उद्योगले बिजुली खपतमा घरायसी भन्दा ५० प्रतिशत कममा प्रयोग गर्न पाइरहेको छ। अध्यक्ष शाहले भने ‘बजेटमा आएको विषय कार्यन्वयनमा आएको भए यो बेला होटल तथा रेष्टुरेन्टले इन्डक्सन चुल्हो प्रयोग गर्ने र ग्यास अभाव हुन केहि हदसम्म सहयोग गर्ने वातावरण निर्माण हुने थियो।’
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले इन्डक्सनको प्रयोग बढाउन सके ग्यास अभावको हाकार केहि मात्रामा कम गर्न सकिने बताउछन्। ‘अहिले बजारमा इन्डक्सन प्रयोगकर्ताको संख्या बढाउन नै सकिएको छैन,’ प्रवक्ता ठाकुरले भने, ‘जति बेला अभाव हुन्छ त्यो बेला कुरा उठ्छ,पछि विस्तारै हराउदै जान्छ।’
होटलले किन प्रयोग गर्दैनन इन्डक्सन
घरमा भन्दा होटल तथा रेष्टुरेन्टहरुमा बिजुली खपत बढी नै हुन्छ। र, सरकारले पनि होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने बिजुलीमा कुनै सहुलियत दिएको छैन। अहिलेकै अवस्थामा होटल र घरमा प्रयोग हुने बिजुलीको महसुल समान रहेको छ।
इन्डक्सन प्रयोग गर्दा बिजुलीको बिल धेरै उठ्ने र ग्यास भन्दा महंगो हुने भएकोले चाहेर पनि बिजुली प्रयोग बढाउन नसकेको होटल एसोसिएन अफ नेपाल(हान)का कोषाध्यक्ष युवराज श्रेष्ठको भनाइ छ। ‘बजेटमा आएको विषयलाई कार्यन्वयन गरेर होटलले बिजुलीमा सहुलियत पाएको भए यति बेला सबै होटलले इन्डक्सननै प्रयोग गर्ने थिए,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘घरायसी शुल्क बराबरनै बिजुलीको महसुल हुँदा प्रयोग गर्न डराइरहेका छन्, यसमा उर्जामन्त्रालय र नेपाल विद्युत प्राधिकरणको कमजोरी छ।’
कहाँ पुग्यो सहुलियत दिने निर्णय
बजेटमा आएको विषय कार्यन्वयनका लागि अहिले नेपाल विद्युत प्राधिकरणमा पत्र पुगेको छ। हानले पटक पटकको प्रयासमा उर्जा मन्त्रालयमार्फत प्राधिकरणमा निर्णय कार्यन्वयनका लागि पत्र पुर्याएपनि सञ्चालक समितिले निर्णय गर्न सकेको छैन। निर्णय कार्यन्वयनका लागि ढिलाई हुँदा बजेट आएको ९ महिना वितिसक्दा समेत कुनै सुविधा लिन पाएका छैनन्। प्राधिकरणले भने सञ्चालक समितिले पास नगरेसम्म कार्यन्वयन गर्न नसक्ने जवाफ दिँदै आएको छ।
२५ प्रतिशत ग्यास होटल तथा रेष्टुरेन्टमा हुन्छ खपत
उद्योगी व्यवसायीहरुले दिएको विवरणलाई लिएर आयल निगमले दिएको तथ्यांक अनुसार आयात भएको ग्यास मध्ये २५ प्रतिशत होटल तथा रेष्टुरेन्टहरुमा खपत हुने गरेको छ। यदी, होटल तथा रेष्टुरेन्टमा अनिवार्य रुपमा इन्डक्सन चुल्हो प्रयोग गर्ने हो भने सो २५ प्रतिशत ग्यास बजारमा पठाउन सकिने र कृतिम अभाव साम्य हुने अनुमान निगमको छ। निगमका अनुसार फेब्रुअरी महिनामा मात्र करिब ५० हजार मेट्रिकटन ग्यास आयात भएको छ।
वार्षिक करिब ६० अर्बको एलपी ग्यास हुन्छ आयात
निगमको तथ्यांक अनुसार वार्षिक ५५ देखि ६० अर्बको एलपी ग्यास आयात हुँदै आएको छ। यदी नेपालमा इन्डक्सन चुल्होको प्रयोग बढाउन सके बिजुली खपत बढाउन सकिने र सो आयात कम गर्न सकिने आंकलन निगमको छ। यस्तै सो आयात भित्र निगमले वार्षिक ५ देखि ७ अर्ब रुपैयाँ नोक्सानी समेत बेहोर्दै आएको छ। सरकारले ग्यासमा सहुलियत दिएको कारणले पनि निगमले सो रकम घाटा बेहोर्दै आएको जनाएको छ।