काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ग्रीसका लागि आफ्नो प्रतिनिधिका रूपमा कृष्ण पोखरेललाई नियुक्त गरेको छ। चेम्बर सचिवालय, जमल काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पोखरेललाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा चेम्बरका सल्लाहकार परिषद्का अध्यक्ष राजेश काजी श्रेष्ठ पनि उपस्थित रहेको थियो।
सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले निजी क्षेत्रबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न प्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउँदै ग्रीसमा रहेका नेपाली व्यवसायी र समुदायसँग सहकार्य बढाउन पोखरेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै भने,‘ग्रीसमा रहेका नेपाली व्यवसायी र समुदायसँग सहकार्य बढाउन तथा सक्दो अन्तराष्टिय व्यापार मेलामा सहभागिता साथै द्धिपक्षिय व्यापार अभिबृद्धिमा उनले प्रभावकारी भूमिका खेल्ने विश्वास नेपाल चेम्बरले लिएको छौं।’
त्यसैगरी सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले नेपाल र ग्रीसबीच व्यापार, लगानी र व्यावसायिक सहकार्य विस्तार गर्न पोखरेलको अनुभव र अन्तर्राष्ट्रिय सञ्जाल महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। ‘विदेशमा बसेर नेपाली समुदाय र व्यावसायिक क्षेत्रलाई जोड्ने काममा उनको योगदान प्रशंसनीय छ। अब चेम्बरको प्रतिनिधिका रूपमा उहाँले नेपाल–ग्रीस आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं,’ श्रेष्ठले भने।
नवनियुक्त प्रतिनिधि पोखरेलले आफूलाई दिइएको जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गर्दै नेपाल र ग्रीसबीच व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्ने बताए। ‘दुई देशका व्यवसायी, संस्थाहरू र नेपाली समुदायबीच सहकार्य बढाउँदै आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न प्रयास गर्नेछु,’ उनले भने।
ग्रीसमा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका पोखरेल एथेन्स र थेसालोनिकीमा सञ्चालित ‘हिमालय ईई’ रेस्टुरेन्ट चेनका सञ्चालक हुन्। आतिथ्य तथा शिक्षा क्षेत्रमा सक्रिय उहाँ एथेन्सस्थित ‘ई. कोरोपोउल्ल प्राइभेट स्कूल’सँग पनि आबद्ध रहेका छन्।
उनले सन् २०२४ मा अष्ट्रियास्थित नेपाली दूतावास र ग्रीक सरकारी निकायसँग सहकार्य गरी ग्रीसमा रहेका नेपालीका लागि पासपोर्ट नामावली दर्ता कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो।
नेपाली समुदायका लागि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका पोखरेल अन्तर्राष्ट्रिय सम्बन्ध, बहुसांस्कृतिक वार्ता तथा कूटनीतिक समन्वयमा अनुभव प्राप्त व्यक्तित्वका रूपमा परिचित छन्। व्यवसायिक क्षेत्रमा योगदानका लागि उनले एथेन्समा ‘बिजनेसम्यान अफ द इयर–२०२२’ लगायत विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। नेपाली, अंग्रेजी, हिन्दी र ग्रीक भाषामा दख्खल राख्नुहुने पोखरेलले विज्ञान र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा उच्च शिक्षा हासिल गरेका छन्।
पोखरेलको नियुक्तिले ग्रीसमा रहेका नेपाली व्यवसायी तथा समुदायसँग सहकार्य विस्तार हुनुका साथै नेपाल–ग्रीस आर्थिक तथा सांस्कृतिक सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा लिईएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।