चितवन। पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा पुस २५ गतेदेखि सुरु हुने रत्ननगर महोत्सवको १३औँ संस्करणमा हरेक दिन रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
रगत अभावको समस्या समाधान गर्न र रक्तदानसम्बन्धी जनचेतना फैलाउन ब्लड डोनर्स सोसाइटी रत्ननगर कमिटीले महोत्सव अवधिभर महोत्सव परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो। उक्त कार्यक्रम २६ पुसदेखि माघ ५ गतेसम्म टिकौली चौरमा सञ्चालन हुने कमिटीका संस्थापक अध्यक्ष रमेश नेपालले जानकारी दिए।
उनले भने, 'रगत आफूलाई चाहिँदा मात्र होइन, अरुलाई पनि दिने बानीको विकास गर्नुपर्छ । यस कार्यक्रममार्फत चितवनका नागरिकलाई रगत दिन उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ।'
सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले रत्ननगर समितिले महोत्सवस्थलमा यस किसिमको रचनात्मक काम गर्न लागेकामा प्रशंसा व्यक्त गर्दै भने, “युवाहरू नियमित रूपमा रक्तदान गर्न उत्प्रेरित हुनुपर्छ। हरेक तीन महिनामा रक्तदान गर्दा स्वास्थ्यमा पनि लाभ पुग्छ, तर युवाहरुमा जनचेतना जगाउन आवश्यक छ।”
उनले आगामी माघ १७ र १८ गते नवलपुरमा रक्तदान कार्यक्रम आयोजना गरी रक्तदान महोत्सवको रुपमा मनाउँदै एक हजार आठ पिन्ट रगत सङ्कलन गर्ने उद्देश्य राखिएको बताए। गत वर्ष भरतपुरमा आयोजित रक्तदान महोत्सवमा एक हजार ७०० पिन्ट रगत सङ्कलन गरिएको थियो।
रक्तदान कार्यक्रमका लागि प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहनेछ भने महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिकाले सहकार्य गर्ने आयोजकले जनाएको छ।
रत्ननगर महोत्सव विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ। यस १३औँ संस्करणमा चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टल रहने आयोजकले जनाएको छ।