काठमाडौं। नेपालको रेशम उद्योग पुनःजागरणका लागि राजधानीमा राष्ट्रिय रेशम सम्मेलन आयोजना हुने भएको छ। ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा पुस २६ मा सम्मेलन हुन लागेको आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो।
नेपालको रेमश उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशकुमार पोखरेलले जानकारी दिए। सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवासीय नेपाली, विकास साझेदार, कृषक, सहकारी, उद्यमी तथा निर्यातकर्तालाई एकै मञ्चमा एकत्रित गरिने उनले बताए।
सम्मेलनमा ‘नेपालमा दिगो रेशमखेतीको आधार स्थापना, नेपालको मूल्य अभिवृद्धि रेशम उत्पादन पारिस्थिति प्रणालीको निर्माण र नेपाल रेशम भिजन २०२६-२०३५ को लागि सक्षम रेशम पारिस्थितिक प्रणालीको निर्माणसम्बन्धी सत्र सञ्चालन हुने कार्यसूची छ।
“देशमा हाल रेशम उद्योग सञ्चालनमा छैन, यसको कारण सम्भावनाको अभाव होइन, दीर्घकालीन उपेक्षा, विखण्डन र लगानीको कमी हो, विश्वबजारमा दिगो तथा प्राकृतिक वस्त्रको माग बढिरहेका बेला अब रेशमलाई वेवास्ता गर्न सकिँदैन”, अध्यक्ष पोखरेलले भ,“रेशम विश्वकै उच्च मूल्य हुने कृषि औद्योगिक उत्पादनमध्ये एक हो। यसको उत्पादनबाट उच्च आम्दानी, न्यून कार्बन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी, कच्चा पदार्थभन्दा मूल्य अभिवृद्धि भएको निर्यात सामग्रीलगायत फाइदा लिन सकिने छ।”
करिब २२ हजार हेक्टर क्षेत्रमा किम्बु (मुलबेरी) खेती, रेमश किरापालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृत रूपमा विकास गर्न सके वार्षिक पाँच खर्ब बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको ह्याण्डलुम फ्याब्रिक्सले जनाएको छ।
एकीकृत मूल्य शृङ्खलाको अभाव, नीतिगत प्राथमिकताको कमी, वित्तीय पहुँच र बिमाको अभाव, प्रविधि तथा सीपको कमी, बजार तथा निर्यात संयन्त्रको अभावलगायत कारण रेशम उद्योग सङ्कटमा पर्दै गएको पत्रकार सम्मेलनमा उल्लेख गरिएको थियो। सोही समस्या समाधानमा सरोकार भएकाहरूको ध्यानाकृष्ट गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष पोखरेलको स्पटोक्ति छ।
सम्मेलनमा नेपालको रेशम विकासको १० वर्षे ढाँचा (२०२६–२०३५)को अवलम्बन, ‘क्लस्टर’मा आधारित किम्बुखेती र रेशम किरापालन, विशेष वित्तीय, व्यापारिक तथा बिमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, एकीकृत ‘नेपाल सिल्क ब्राण्डिङ’ र बजार पहुँचलगायत विषयमा छलफल हुने जनाइएको छ।
सम्मेलनबाट रेशमलाई रणनीतिक राष्ट्रिय उद्योगको मान्यता, सरकारलाई नीतिगत सिफारिस, लगानी तथा वित्तीय प्रतिबद्धता, किसान, सहकारी, लगानीकर्ता र निर्यातकर्ताबीच नयाँ साझेदारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मिडियामार्फत जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको ह्याण्डलुम फ्याब्रिक्सका उपाध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए।