काठमाडौं। नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसन आबद्ध ‘म्याट्रिक्स प्राइभेट लिमिटेड’ले एक वर्षमै करिब डेढ अर्ब रुपैयाँको व्यापार गरेको छ। म्याट्रिक्सले बहुराष्ट्रिय ब्रान्ड गोदरेजका उपभोक्तामुखी उत्पादन (एफएमजी) को बिक्रीमार्फत सन् २०२५ मा १ अर्ब ४७ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो।
सन् २०१८ मा नेपालमा स्थापित म्याट्रिक्स प्रालि भारतीय कम्पनी गोदरेज कन्जुमर प्रोडक्ट्सको आधिकारिक वितरक हो। कम्पनीले सन् २०२४ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब २७ करोड ८० लाख र सन् २०२१ मा १ अर्ब ९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। यो कम्पनीले विगत दुई वर्षमा औसत ७ प्रतिशतले व्यापरमा वृद्धि गरेको हो। म्याट्रिक्स प्राइभेटमा युवा व्यवसायी आकाश गोल्छा र जयन्त कुमार अग्रवालको समान लगानी रहेको छ।
गोल्छा अर्गनाइजेसन जस्तो दशकौं लामो अनुभव र साख भएको समूहसँगको आबद्धताले गर्दा कम्पनीलाई वित्तीय बजारमा विश्वास आर्जन गर्न सहज भएको छ। कम्पनीले देशभरका आधुनिक व्यापार केन्द्र र ठूला सुपरमार्केटमा सामान आपूर्ति गर्ने विशेष अधिकार पाएका कारण पनि यसको व्यापारिक दायरा फराकिलो बनेको हो। म्याट्रिक्स गोदरेज एफएमसीजी उत्पादन बिक्री गर्ने २ आधिकारिक बिक्रेतामध्ये एक हो। यसले पूर्वी नेपाल र काठमाडौं उपत्यका केन्द्रित भएर व्यापार गर्छ भने पश्चिम नेपालमा पोखरा, नेपालगञ्ज र यसको वरपर क्षेत्रमा पनि व्यापार गर्छ।
गोल्छा अर्गनाइजेसन जस्तो दशकौं लामो अनुभव र साख भएको समूहसँगको आबद्धताले गर्दा कम्पनीलाई वित्तीय बजारमा विश्वास आर्जन गर्न सहज भएको छ।
कम्पनीले बैंक कर्जा सुविधाका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले ८० करोड रुपैयाँ सीमा निर्धारण गरेको छ। जसमा कम्पनीले करिब ९२ प्रतिशत कर्जा उपयोग गरिसकेको छ। रेटिङ रिपोर्टअनुसार कम्पनीसँग बैंक ऋण लिने पाउने सीमा करिब ८ प्रतिशमात्रै बाँकी रहेको हुँदा ७० करोड रुपैयाँ बढी कर्जा कम्पनीले उपयोग गरिसकेको देखिन्छ।
कम्पनीले बैंकबाट लिने ऋणको सीमा लगभग अन्तिम विन्दुमा पुगेको छ, जसले गर्दा आगामी दिनमा तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ। कम्पनीले दैनिक खर्च धान्न (सामान आयात गर्न) पनि बैंकहरुबाट कर्जा दिनुपरेको इक्राको रेटिङ रिपोर्टले देखाउँछ। कम्पनीको नाफा मार्जिन हरेक वर्ष घट्दो छ। सन् २०२३ मा ४.४ प्रतिशतबाट सन् २०२४ मा ३.८ प्रतिशत र सन् २०२५ मा ३.१ प्रतिशतमा संकुचित भएको हो।
कम्पनीको ऋण र नाफाको अनुपात भने ६.७ प्रतिशत छ। तर, ऋण तिर्न सक्ने क्षमता (डीएससीआर) ०.९ गुणामात्रै छ।
कम्पनीको ऋण र नाफाको अनुपात भने ६.७ प्रतिशत छ। तर, ऋण तिर्न सक्ने क्षमता (डीएससीआर) ०.९ गुणामात्रै छ। कम्पनीले धेरै सामान बजारमा उद्यारोमा दिने र उठाउन समय लाग्ने हुँदा तरलता व्यवस्थापनमा समस्या हुँदा बैंक ऋण लिनुपरेको हो। कम्पनीको नेट वर्किङ क्यापिटल र सञ्चालन आम्दानीको अनुपात २९ प्रतिशत छ, जसले तरलता चापमा कम्पनी रहेको प्रष्ट हुन्छ।
कम्पनीको मुख्य आम्दानीको स्रोत गोदरेज ब्राण्डका उत्पादन हुन्। कम्पनीको कुल राजस्वमा गोदरेज ब्राण्डका सामग्रीको हिस्सा करिब ९८ प्रतिशत रहेको छ। यसले मुख्यतया लामखुट्टे धपाउने धुप, हेयर कलर, साबुन र एयर फ्रेसनर आयात गरी नेपालमा बिक्री गर्दै आएको छ। कम्पनीको कुल आम्दानीमा यी प्रोडक्टको बिक्री आम्दानी हिस्सा ७३ प्रतिशत छ।
प्रतिस्पर्धी एफएमसीजी बजार, आयातमा हुने नीतिगत परिवर्तनको जोखिम र विदेशी सप्लायरसँग दीर्घकालीन सम्झौताको अभावलाई रेटिङ एजेन्सीले चुनौतीका रुपमा औंल्याएको छ। यद्यपि, स्थापित ब्राण्डको बजार पहिचान र प्रवर्द्धकको बलियो पृष्ठभूमिले कम्पनीको साखलाई सन्तुलनमा राखेको छ।