काठमाडौं। पछिल्लो समय काठमाडौंको पाँचतारे होटलको अकुपेन्सी २० प्रतिशतमा झरेको छ। जेनजी आन्दोलनको प्रभाव र महँगो हवाई भाडाको कारण नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य रुपमा कमी आएको पर्यटन व्यवसायीहरुको भनाइ छ।
अंग्रेजी नयाँ वर्ष २०२६ सुरु भएयता काठमाडौंका पाँचतारे होटलमा नयाँ बुकिङ निकै न्यून रहेको काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालको भनाइ छ। ‘जेनजी आन्दोलनताका पर्यटकीय सिजन सुरु भएको र पहिलानै बुक गरिसकेका आउँदा होटलको अकुपेन्सी बढेको थियो,’ सञ्चालक अग्रवालले भने, ‘अहिले विस्तारै होटलको कोठा खाली हुँदै गएको छ। अकुपेन्सी २० प्रतिशतमा सिमित छ।’
हुन त जनवरीदेखि मार्चसम्मलाई नेपालमा विदेशी पर्यटकका लागि अफ सिजनको रुपमा व्याख्या गरिँदै आएको छ। तथापि, विगत वर्षमा जनवरीमा ४० देखि ५० प्रतिशतसम्म होटलको अकुपेन्सी रहने गरेको थियो। तर, यो वर्ष पर्यटक आगमणको संख्या निकै न्यून हुँदै गएको व्यवसायीको भनाइ छ।
जेनजी आन्दोलनपछि पर्यटकका लागि नेपाल पूर्ण रुपमा सुरक्षित छ भन्ने सन्देश विश्व पर्यटन बजारमा पुर्याउनै नसकेको होटल एसोसिएन अफ नेपाल (हान)का कोषाध्यक्ष युवराज श्रेष्ठको भनाइ छ। जेनजी आन्दोलनलगत्तै छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गरेर आफ्ना नागरिकलाई सकेसम्म नेपाल नजान सूचना जारी गरेको थियो।
कोभिडअघिको रिकोभरका लागि ३ प्रतिशत पर्यटक कम भयो। यो भनेको जेनजी आन्दोलनकै प्रभाव हो।
जुन अहिलेसम्म हटाएको छैन। त्यसका लागि सरकारले कुटनीतिक पहल गरी विभिन्न राजदूतसँग समन्वय गरेर तत्कालै ट्राभल एडभाइजरी हटाउन पहल गर्नुपर्ने हानका कोषाध्यक्ष श्रेष्ठको भनाइ छ।
हवाई भाडा र लक्जरी करको प्रभाव
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटक आगमनको संख्या घट्दै जानुको मुख्य कारण महँगो हवाई भाडा र लक्जरी कर रहेको बताउँछन्।
‘अहिले नेपाल आउने हवाई भाडा अन्य मुलुकको तुलनामा अत्याधिक छ,’ अध्यक्ष थपलियाले भने, ‘अर्कोतर्फ टिकटमा भ्याट लगाएर झनै महँगो बनाएको छ। यसले पर्यटन क्षेत्रमा नराम्रो असर पुर्याएको छ।’
पटक-पटक सरकारले हवाई टिकटमा लगाएको भ्याट हटाउने आश्वासन दिए पनि अहिलेसम्म कार्यन्वयनमा नगरेको बताउँदै उल्टै पर्यटनमा लक्जरी कर थोपरेर पर्यटकलाई आर्थिक भार बोकाउँदा समस्या भएको उनको ठम्याइ छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जेनजी आन्दोलनको प्रभाव अहिले विस्तारै पर्यटक आगमनमा पर्न थालेको बताए। ‘२०२५ मा २०१९ कै हाराहारीमा पर्यटक आउने अपेक्षा गरिएको थियो,’ गण्डकी प्रदेशका प्रमुख लामिछानेले भने, ‘कोभिडअघिको रिकोभरका लागि ३ प्रतिशत पर्यटक कम भयो। यो भनेको जेनजी आन्दोलनकै प्रभाव हो।’
सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ जना विदेशी पर्यटक नेपाल आएका थिए। कोभिड १९ अघि अर्थात सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक आएका थिए। पर्यटन बोर्डका अनुसार २०२५ को डिसेम्बरमा ९८ हजार १९० जना विदेशी पर्यटक नेपाल आएका थिए।