काठमाडौ । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) बीच ब्याजदरमा एकरुपता गर्ने सहमती भएको छ ।
बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने लगाएतका विषयमा सहकार्य गर्ने सहकार्य गर्ने सम्वन्धमा बैशाख १७ गते सहमतीपत्रमा हस्ताक्षर समेत गरेका थिए ।
दुवै संस्थाबीच वित्तीय सहकारीको स्थायीत्व र दिगो संचालनका लागि सहकार्य गर्ने विषयमा सहमती भएको जनाइएको छ । दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्न जाने वित्तीय संकट टार्न, नेपालको सहकारी अभियानलाई व्यवस्थित र ब्यवसायीक बनाउन सहकार्य गर्ने जनाएको छ ।
सहकार्य गर्न नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरेको जानकारी दिए ।
नेपाल सहकारी पत्रकार समाजले आयोजना सरोकारवालाहरुसंग गरेको भिडियो कन्फ्ररेन्समा बोल्दै बैंकका अध्यक्ष केबि उप्रेतीले बैंक र नेफ्स्कूनका सबै देश भरिका शाखाबाट लिने दिने ब्याजमा एकरुपता हुने बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सहकार्य गरिने उनको भनाई छ ।
तरलता ब्यबस्थापन गर्न, बचत र ऋण सहकारीमा हुने कारोबारमा एकरुपता हुने उनको भनाइ छ । यसले नमुना परियोजना सन्चालन गर्न पनि सजिलो हुने उनले बताए । प्रदेश स्तरीय नमुना परियोजनाका लागि प्रयास भइरहेको भन्दै उक्त परियोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने बताए ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यदलको प्रतिबेदन आएपछि बैंकसंग दीर्घकालीन सहकार्य गरिने बताए । बिषयका आधारले यात्रा केही फरक रहे पनी बैंकसंग अन्तरबिरोध नरहेको उनको भनाई छ ।
प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने उनको भनाई छ । यो जोखिमपुर्ण काम भएपनि सहकारीको दिगो ब्यबस्थापनका लागि सहकार्य आवस्यक भएको उनको भनाइ छ । कार्यदलले बैशाख २७ गतेसम्म प्रारम्भिक प्रतिबेदन तयार गर्ने जनाइएको छ ।
तरलता ब्यबस्थापनका लागि दुवै संस्थाले विपद् ब्यवस्थापन केन्द्रिय तरलता कोष स्थापना गर्ने जनाएका छन् । उक्त कोषमा बैंकले १ अर्ब र नेफ्स्कूनले १० करोड रुपैंया जम्मा गरेको बताए ।