काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको १५औं महाधिवेशन माघको दोस्रो साता काठमाडौंमा हुँदै छ। महाधिवेशनबाट नयाँ नेतृत्व चुनिनेछ। महाधिवेशन प्रतिनिधिबाट चुनिने नयाँ नेतृत्वका लागि अहिले तीन जना अध्यक्ष आकांक्षी देखिएका छन्।
आगामी माघ १५, १६ र १७ मा हुने अधिवेशनबाट अध्यक्ष बन्न सल्लाहकार निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष आङदोर्जे(एडी) लामा र महासचिव रोशन दाहाल आकांक्षी देखिएका हुन्।
महासंघ निर्वाचन मिति नजिकिएसँगै आगामी नेतृत्वका आकांक्षीको सक्रियता बढेको छ। नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा पनि नाम अगाडि आएको महासंघले एक अधिकारीले बताए। महासचिव पदका लागि शिवहरि घिमिरे, वरिष्ठ उपाध्यक्षमा प्रकाशबहादुर सेठी र कोषाध्यक्षमा बालाजु श्रेष्ठको नाम अगाडि आएको छ।
अहिले सम्भावित उम्मेदवार औपचारिक घोषणा गर्नुअघि जिल्ला–जिल्लामा पुगेर माहोल बुझ्न व्यस्त छन्। ७७ वटै जिल्लाका व्यवसायीको राय बुझेपछि मात्र आउँदो सातादेखि औपचारिक उम्मेदवारी घोषणा सुरु हुने एक उम्मेदवारले बताए। महासंघ सचिवालयका अनुसार आउँदो सातादेखि काठमाडौंमा उम्मेदवारले आ–आफ्नो सचिवालय स्थापना गर्ने तयारी छ। निर्वाचन आगामी माघमा प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
देशको वर्तमान राजनीतिक अवस्था र निर्माण व्यवसायमाथि चौतर्फी प्रहार भइरहेका बेला महासंघ एकताबद्ध भएर अगाडि बढ्ने ती अधिकारीले बताएका छन्। सकेसम्म सहमतिबाटै नयाँ कार्यसमिति चयन प्रयास हुने उनको भनाइ छन्। ‘आफ्नो हिसाबले जाने घोषणा गरेका छौं। सहमतिमा पुग्यौं भने राम्रो, नत्र प्रतिस्पर्धाबाटै चुनाव हुनेछ,’ उनले भने।
महाधिवेशनमा दुई हजार बढीको जमघट हुने महासंघले जनाएको छ। यस पटकको साधारणसभामा देशभरबाट करिब १ हजार ५ सय ५० जना मतदाता सहभागी हुनेछन्। महाधिवेशन अवसर पारेर निर्माण सामग्रीको प्रदर्शनी तथा स्टलसमेत राखिनेछन्। महासंघमा हालका अध्यक्ष रवि सिंहको दोस्रो कार्यकालपछि नयाँ नेतृत्व चुनिन लागेको हो।
साधारणसभा तथा निर्वाचनका लागि महासंघको विधानको दफा ९ को उपदफा (१२) बमोजिम सबै प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्यलगायत वस्तुगत संघहरुलाई प्रतिनिधि पठाउन आग्रह गरेको छ। साधारणसभा प्रतिनिधिको नामावली २०८२ पुस २९ सम्म कार्यालय समयभित्र अनिवार्य रूपले महासंघ सचिवालयमा पुग्ने गरी पठाउनुपर्नेछ।
महासंघका अनुसार प्रत्येक प्रदेश महासंघबाट अध्यक्षसहित १५ जना साधारणसभा प्रतिनिधि पठाउनुपर्नेछ। जिल्ला संघको हकमा ५० सम्म सदस्य संख्या भएको जिल्ला संघले ३ जना साधारण सभा प्रतिनिधि र सोभन्दा माथि छानविन समितिले यकिन गरे बमोजिमको संख्याको आधारमा हरेक ५० सदस्य बराबर थप १ जना साधारणसभा प्रतिनिधि चयन गरी १ जनालाई अनिवार्य मुख्य प्रतिनिधि हुने गरी पठाउनुपर्नेछ।
पाँच वा सोभन्दा बढी साधारण सभा प्रतिनिधि पठाउने जिल्ला संघले प्रतिनिधि हुन योग्यता पुगेका महिलामध्ये कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्य रूपमा पठाउनुपर्नेछ। एसोसिएट सदस्यहरूबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजकसहित ३९ जना साधारणसभा प्रतिनिधि हुनेछन्। प्रत्येक वस्तुगत संघबाट १ (एक) जना साधारणसभा प्रतिनिधि पठाउनुपर्नेछ।
निर्माण व्यवसाय इजाजत पत्र प्राप्त गरेको दस वर्ष पूरा भएको, महासंघ वा महासंघअन्तर्गतका सदस्य संघको सदस्यता लिएको कम्तीमा दस आर्थिक वर्ष पूरा भएको फर्म÷कम्पनीमा अविछिन्न पाँच वर्ष पूरा गरेको प्राकृतिक व्यक्तिलाई मात्र साधारणसभा प्रतिनिधि चयन गरी पठाउनुपर्नेछ।