काठमाडौं। बलिउडका चर्चित अभिनेता संजय दत्त बिहीबार काठमाडौं आइपुगेका छन्। काठमाडौंको केशर महलमा सञ्चालित चारतारे होटल बाराही काठमाडौंमा सञ्चालित क्यासिनो बादशाहको उद्घाटनका लागि अभिनेता दत्त नेपाल आएका हुन्।
उनले बिहीबार राति क्यासिनो उद्घाटन गरेका हुन्। बाराही ग्रुपद्वारा सञ्चालित बाराही काठमाडौंमा केही महिनादेखि क्यासिनो सञ्चालनमा आएको हो। नेपालमा चार र पाँचतारे होटलले क्यासिनो सञ्चालन गर्न पाउँछन्। सोहीअनुसार काठमाडौं बाराहीमा पनि क्यासिनो सञ्चालनमा ल्याएको हो।
होटलहरुले क्यासिनो सञ्चालनका लागि आफ्नो संरचना भाडामा दिँदै आएको छ। बादशाहा क्यासिनो नेपालमा हाल सञ्चालनमा रहेका ठूलामध्यकै रहेको जनाएको छ।
यद्यपि, कति संरचनामा सञ्चालनमा रहेको छ भन्ने जानकारी भने होटलले दिएको छैन। होटलका एक उच्च अधिकारीका अनुसार क्यासिनो भाडामा दिएकाले धेरै जानकारी आफूहरुलाई हुँदैन।
क्यासिनो उद्घाटनमा सेलिब्रेटी
क्यासिनो उद्घाटनका लागि विदेशबाट सेलिब्रेटीहरु ल्याउने प्रचलन नयाँ भने हैन। किनकी नेपालमा सञ्चालित क्यासिनोहरुको मुख्य ग्राहक भारतीय पर्यटकहरु रहेको कारणले पनि भारतीय अभिनेता र नायिकाहरु ल्याउने गरेका छन्।
यसअघि केही वर्ष झापाको मेची क्राउनमा सञ्चालित क्यासिनो उद्घाटनका लागि पनि भारतीय नायिकालाई ल्याइएको थियो। यस्तै, भैरहवामा सञ्चालित पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बेला पनि भारतीय नायिकाहरु ल्याएका थिए।
प्रचार प्रसारका लागि सबैभन्दा उपयुक्त माध्यम सेलिबे्रटीहरु भएकाले धेरै सञ्चालकहरुको आँखा भारतीय अभिनेता र नायिकाहरुमा पर्ने गरेको व्यवसायीहरुको भनाइ छ।
१५ देखि २० प्रतिशत अकुपेन्सी बढ्छ
क्यासिनो सञ्चालनमा आउँदा होटलको अकुपेन्सी १५ देखि २० प्रतिशतसम्म बढ्ने व्यवसायीको भनाइ छ। क्यासिनो सञ्चालकले महँगो शुल्कमा भाडासमेत बुझाउने गरेको छ।
सोही कारण होटलका अतिरिक्त आम्दानीसमेत हुने गरेको छ। क्यासिनो खेल्न आउनेले होटलको कोठासमेत लिने हुँदा बुकिङमा समेत उत्साह थपिने गर्छ।
भारतीय र चिनियाँ पर्यटक बढी
नेपालमा क्यासिनो खेल्न आउनेमध्ये अधिकांश भारतीय पर्यटक हुने गरेको छ। होटल व्यवसायीहरूका अनुसार खुल्ला सीमा रहेको र नजिकको गन्तव्य भएकाले पनि धेरै भारतीय नेपालमा क्यासिनो खेल्नका लागि आउने गरेका छन्।
यस्तै, चिनियाँ पर्यटक पनि क्यासिनोको गतिलो ग्राहक हुन्। खुला सिमाना नहुँदा पनि हवाईमार्गबाट धेरै चिनियाँ क्यासिनो खेल्न नेपाल आउने गरेको पर्यटन व्यवसायीको भनाइ छ।