काठमाडौं। पछिल्लो समय नेपालमा तारे होटलको संख्या बढ्दो छ। काठमाडौं उपत्यकाभित्र मात्र हैन, उपत्यकाबाहिर पनि पाँचतारेसहित तारे होटलको संख्या बढिरहेको छ।
काठमाडौं र उपत्यकाबाहिरका पाँचतारे होटलले तारे मान्यता पाए पनि आवश्यक सेवा–सुविधा नदिँदा विदेशी र नेपाली पर्यटक असन्तुष्ट भइरहेका छन्। व्यवसायी र नियामक दुवै पक्षमा कमजोरी देखिँदा नेपालको पर्यटन क्षेत्रको छवि दीर्घकालीन रूपमा प्रभावित हुँदै छ।
काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवाल पाँचतारे होटलको मान्यता दिइनु मात्र पर्याप्त नहुने बताउँछन्। उनका अनुसार सरकारले होटल सञ्चालनको गुणस्तर निरन्तर अनुगमन गर्नुपर्छ।
‘होटलमा आउने ग्राहक भनेको अघोषित प्रचारको रूपमा काम गर्छन्। उनीहरूको सकरात्मक वा नकारात्मक समीक्षा पर्यटन क्षेत्रको दीर्घकालीन प्रभावमा ठूलो भूमिका खेल्छ। त्यसैले स्टार दिने मात्र होइन, स्टार दिनुअघि कडा अनुगमन आवश्यक छ,’ अग्रवालले भने, ‘कि प्रतिस्पर्धाको समयमा पर्यटकलाई सन्तुष्ट पार्न नसके एक रातको खराब अनुभवले पर्यटनमा नकारात्मक प्रभाव पार्छ।’
काठमाडौं बाहिर पाँचतारे होटलका लागि कम्तीमा ८० कोठा हुनुपर्ने प्रावधान छ। तर, प्रायः होटलले आवश्यक मापदण्ड पूरा नगरी पनि मान्यता पाएका छन्।
काठमाडौं उपत्यकामा पाँचतारे होटलका लागि १०० कोठा हुनुपर्छ। उपत्यकाबाहिरका लागि ८० वटा कोठा भए पुग्छ। मापदण्ड पालनाको विषय अध्ययन गर्ने हो भने अधिकांश होटलका कोठाको संख्या नै पुग्दैन।
यदि ग्राहक असन्तुष्ट भएर आफ्नो अनुभव सामाजिक सञ्जाल वा अन्य माध्यममा सेयर गरे भने यसको असर नेपालमा आउने आगामी पर्यटकमा देखिन्छ। यो विषयलाई व्यवसायी र नियामक दुवैले गम्भीरतापूर्वक लिनुपर्ने पर्यटन विज्ञको बुझाइ छ।
कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले काठमाडौं उपत्यकाबाहिर रहेका तारे होटलमा कोठा साइज र सेवा–सुविधासम्बन्धी गुनासो आउने गरेको बताए। ‘लक्जरी रिसोर्टहरूमा यस्तो समस्या हुँदैन। तर, तारे मान्यता पाएका केही होटलमा यस्ता समस्या देखा पर्दछन। अब पर्यटन विभागले कडाइ गर्नुपर्ने बेला आएको छ,’ उनले भने।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पनि काठमाडौं बाहिरका होटलमा विदेशी कार्यक्रममा गुनासो हुने गरेको बताए। ‘पाँचतारे होटलमा बस्ने ग्राहकले त्यहीअनुसारको सेवा–सुविधा अपेक्षा गर्छन। तर, वास्तविक अनुभवमा त्यो प्राप्त नहुँदा विदेशमा हुने कार्यक्रममा टुर अपरेटरहरूले गुनासो गर्ने गरेका छन। यसले नेपालको पर्यटन क्षेत्रको छवि कमजोर बनाउँछ,’ लामिछानेले स्पष्ट पारे।
पर्यटन विभागले होटलको तारे मान्यता नवीकरणको बेला मात्रै कडाइ गर्नुको साटो कम्तीमा ६–६ महिनामा अनुगमन गर्नुपर्छ। यसले सामान्य गुनासो समेत दीर्घकालीन प्रभाव पार्नबाट रोक्न सक्छ। उनले थपे, ‘अनुगमन र कडाइ नहुँदा व्यवसायी पनि गुणस्तरीय सेवा दिनमा ढिलासुस्ती गर्छन्। त्यसैले नियामक निकाय र व्यवसायी दुवैले जिम्मेवारी पूरा गर्नुपर्छ।’
काठमाडौं बाहिर पाँचतारे होटलका लागि कम्तीमा ८० कोठा हुनुपर्ने प्रावधान छ। तर, प्रायः होटलले आवश्यक मापदण्ड पूरा नगरी पनि मान्यता पाएका छन्। यसले ग्राहकलाई भ्रममा पार्छ। ग्राहकले पाँचतारे होटलको मूल्य तिर्छ, तर पाउने सुविधा काठमाडौंको होटलको भन्दा फरक र कम स्तरको हुन्छ। यसले नेपालमा आउने विदेशी पर्यटकको दृष्टिकोण बदल्छ र पर्यटनको छवि प्रभावित पार्ने उनीहरूको भनाइ छ।
कतिपय व्यवसायीले ड्रोन वा फोटोमार्फत सानो होटललाई ठूलो देखाउने प्रवृत्ति बढेको आरोपसमेत लाग्न थालेको छ। ‘कोठाको साइज वा सुविधा विवरण ग्राहकलाई ठीकसँग दिइँदैन। नेपालमा आएपछि उनीहरूले कोठा र बाथरुम हेर्दा थाहा पाउँछन् कि यहाँको पाँचतारे होटल भनेको विदेशका तीनतारे स्तरको रहेछ। यसबाट नेपाल विश्व पर्यटन क्षेत्रमा बदनाम हुने खतरा छ,’ ती पर्यटन विज्ञले भने।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले उपत्यका बाहिर सञ्चालनमा रहेका तारे होटलमा पर्यटकबाट केही गुनासो आएको बताए। ‘नियमअनुसार पूरा गरे पनि तारे होटलको मान्यता दिनुपर्ने हाम्रो दायित्व हो,’ महानिर्देशक लामिछानेले भने, ‘अनुगमनलाई केही प्रभावकारी बनाउँछौं, तारे होटलको मान्यता दिँदैनौं भन्न मिल्दैन।’

चारतारे होटलमा तातोपानी पाउनै मुस्किल
स्टारको स्तर निर्धारण गर्ने प्रक्रियामा पनि समस्या देखिन्छन एक व्यवसायीले उदाहरण दिँदै भने, ‘अंग्रेजी नयाँ वर्षको अवसरमा बर्दियाको चारतारे रिसोर्टमा बास बसें। तर, बाथरुममा तातो पानी चाहिँदा काउन्टरमा फोन गर्नुपर्ने अवस्था थियो। ब्रेकफास्टमा पनि अपेक्षित कन्टिनेन्टल खानेकुरा थिएन। पैसा चारतारे होटलअनुसार तिरेको थिएँ, तर सेवा सामान्य होटलजस्तो थियो। यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश दिन्छ।’
होटलको मापदण्ड र स्तरीकरण पर्यटन विभागले गर्ने गर्छ। सुरुमा सबै प्रक्रिया पूरा गरे पनि पछि कोठाको साइज, सेवा–सुविधा, र ग्राहक अनुभव अनुगमन नगरे पर्यटन क्षेत्रमा समस्या आउँछ। ‘सरकार संख्यात्मक रूपमा पर्यटक बढाउन लागिरहेको बेला होटल व्यवसायीले मनपरी गर्न थाल्दा राम्रो हुँदैन,’ अर्का व्यवसायीले टिप्पणी गरे।
२१४ वटा छन् तारे होटल
पर्यटन विभागले २०८२ साउनमा सार्वजनिक गरेको तथ्यांकअनुसार एकदेखि पाँचतारे होटलको संख्या २१४ पुगेको छ। पछिःलो एक वर्षमा ३ हजार २७० बेड थपिएका छन। तारे होटलमा बेड संख्या २० हजार ३४३ पुगेको विभागको तथ्यांकमा उल्लेख छ।