काठमाडौं। मध्यपूर्वमा चर्किएको भू-राजनीतिक तनावले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमको दबाब सिर्जना गरेको छ। युरोप र अमेरिकाबाट नेपाल आउने अधिकांश पर्यटक खाडी मुलुकका ट्रान्जिट विमानस्थल हुँदै यात्रा गर्ने संरचना रहेकाले त्यहाँको हवाई क्षेत्र बन्द, उडान कटौती र सुरक्षाजन्य त्रासले नेपाल आउने पर्यटक प्रवाहमा अनिश्चितता बढाएको छ। पर्यटकीय सिजन सुरु हुनै लाग्दा देखिएको यो परिस्थिति होटल, ट्रेकिङ, माउन्टेनियरिङ र हवाई सेवा क्षेत्रका लागि चिन्ताको विषय बनेको छ।
काठमाडौंस्थित काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालका अनुसार मध्यपूर्वको अस्थिरताले नेपालको पर्यटनमा कालो बादल मडारिएको छ। उनका अनुसार युरोप र अमेरिकाबाट आउने पर्यटक प्रायः कतार, दुबई, कुवेतजस्ता हब हुँदै नेपाल आउँछन। त्यही क्षेत्रमा तनाव चुलिदा वा हवाई क्षेत्र बन्द हुँदा पर्यटकले यात्रा स्थगित गर्ने, बुकिङ सार्ने वा गन्तव्य परिवर्तन गर्ने सम्भावना बढ्छ। मध्यपूर्वबाट सीधा उडान अवरुद्ध हुँदा भारत वा सिंगापुर हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ, जसले हवाई भाडा महँगो बनाउँछ। यसले नेपाल भ्रमणको समग्र लागत बढाएर निर्णय प्रक्रियामा नकारात्मक प्रभाव पार्छ।
होटल व्यवसायमा यसको प्रभाव तुरुन्त देखिन थाल्ने संकेत उद्योगीहरू बताउँछन। होटल एसोसिएन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार बुकिङ क्यान्सिलेसन र ‘वेट एन्ड वाच’ प्रवृत्ति बढ्न थालेको छ। उनका अनुसार नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्व बजारमा स्पष्ट र प्रभावकारी ढंगले प्रवाह गर्न नसके उद्योग थप संकटमा पर्न सक्छ। पर्यटन केवल भौतिक सुरक्षाको प्रश्न होइन, मनोवैज्ञानिक भरोसासँग पनि जोडिएको क्षेत्र भएकाले सरकारले कुटनीतिक र प्रचारात्मक पहललाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
गण्डकी प्रदेश, विशेषतः पोखरा क्षेत्र, ट्रेकिङ र साहसिक पर्यटनका लागि युरोप-अमेरिकी बजारमा निर्भर छ।
नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार नेपालमा आउने उच्च खर्च गर्ने पर्यटकमध्ये करिब ६० प्रतिशत अमेरिका र युरोपबाट आउने गरेका छन्। तीमध्ये अधिकांश खाडी ट्रान्जिटमार्फत आउने संरचना रहेकाले अहिलेको द्वन्द्वले दीर्घकालीन असर पार्न सक्छ। गण्डकी प्रदेश, विशेषतः पोखरा क्षेत्र, ट्रेकिङ र साहसिक पर्यटनका लागि युरोप-अमेरिकी बजारमा निर्भर छ। यदि, उडान असहजता लम्बियो भने यसले सिजनल आम्दानीमा उल्लेखनीय गिरावट ल्याउन सक्छ।
यही सन्दर्भमा लामिछानेले बजार विविधीकरणको आवश्यकता औंल्याएका छन। भारत, चीन, बंगलादेश, सिंगापुर, मलेसिया, भियतनामजस्ता क्षेत्रीय बजारबाट पर्यटक आकर्षित गर्न नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ छ। क्षेत्रीय हवाई सम्झौता, चार्टर उडान प्रोत्साहन, डिजिटल प्रमोशन र संयुक्त पर्यटन प्याकेज जस्ता उपाय तत्काल अघि बढाउनुपर्ने सुझाव उनले दिएका छन्।
ट्रेकिङ र माउन्टेनियरिङ क्षेत्रमा असर अझ गहिरो देखिने विश्लेषण गरिएको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाका अनुसार अहिलेको सिजनमा सबैभन्दा धेरै पर्यटक युरोप र अमेरिकाबाट ट्रेकिङका लागि आउने गर्छन। नेपालसँग ती मुलुकमा सीधा उडान नहुँदा खाडीमार्गमा निर्भर रहनुपर्ने संरचनात्मक समस्या छ। यदि हवाई भाडा कच्चा तेलको मूल्य वृद्धिका कारण बढ्यो भने पर्वतीय पर्यटनको लागत संरचना प्रभावित हुन्छ। यसले ट्रेकिङ प्याकेज महँगो बनाउँछ र प्रतिस्पर्धी गन्तव्यहरूसँग तुलना गर्दा नेपाल कमजोर पर्न सक्छ।
नेपालले अवसर लिन सुविधा दिनुपर्छ
पर्यटन व्यवसायीहरूले तत्काल नीतिगत राहत प्याकेजको माग गरेका छन्। भिसा शुल्कमा अस्थायी छुट, अन्तर्राष्ट्रिय टिकटमा लाग्ने भ्याट हटाउने, होटलमा लाग्ने लक्जरी कर घटाउने र प्रचार बजेट वृद्धि गर्ने जस्ता उपायहरूले वैकल्पिक मार्गबाट आउने पर्यटकलाई प्रोत्साहित गर्न सकिने बताउँछन्।
तथ्यांक अनुसार जनवरी २०२६ मा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन् भने अमेरिकाबाट ८ हजार ६०४ जना भित्रिएका छन्। बंगलादेशबाट ५ हजार ८१४ र अष्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक आएका छन्। सार्क मुलुकबाट आगमन २३ प्रतिशतले बढेको छ भने एशियाका अन्य मुलुकबाट करिब १९ प्रतिशत वृद्धि भएको छ। युरोपबाट जनवरीमा ११ हजार ४१९ पर्यटक आएका थिए।
टे्रकिङ एसोसिएन अफ नेपाल (टान)का उपाध्यक्ष सोनाम शेर्पाले बोर्डको तथ्यांकले क्षेत्रीय बजारको विस्तार सम्भव रहेको बताउँछन्। ‘उच्च खर्च गर्ने युरोप-अमेरिकी पर्यटकमा आएको सानो गिरावटले पनि समग्र आम्दानीमा ठूलो प्रभाव पार्न सक्छ,' उपाध्यक्ष शेर्पाले भने, ‘नेपालको पर्यटन आम्दानी संरचनामा ‘स्पेन्डिङ पावर’ महत्वपूर्ण सूचक हो। जसमा पश्चिमी पर्यटकको योगदान उल्लेखनीय छ।’